रूपन्देही - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताएका छन्।
उनले सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज (शनिबार) उद्घाटन गर्दै त्यस्ताे बताएका हुन्।
महासचिव पौडेलले सीके राउत र सरकारबीचको सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताए। “राउत र सरकारबीचको सहमतिले नेपाललाई टुक्र्याउन चाहनेलाई चोट दिएको छ,” उनले भने, “अब नेपाललाई विखण्डन गर्ने सपना कसैले नदेखे हुन्छ। ”
उनले नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न अभिवाज्य राष्ट्र भएकाले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए। उनले भने, “राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढन सहमत छु भनेर राउतले हस्ताक्षर गरेका छन्।”
‘छुटै मधेस’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका राउतसँग सरकारले चरणबद्ध वार्ता गरेर सहमतिमा ल्याएको जानकारी दिए। “नेपाल एउटै राज्य हो, यसलाई खण्डित गर्ने कुरा कदापि सफल हुँदैन,” उनले भने,“सबैले नेपाली जनताको सार्वभौम अधिकारको सम्मान गर्नुपर्छ।”
कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशमा केन्द्रीय सरकारले शुरु गरेका योजना पूरा गर्न बजेट समस्या रहेकाले पहल गरिदिन महासचिव पौडेललाई आग्रह गरे।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केन्द्रीय सरकारका कारण भूमिनीति अल्मलिएकाले तत्काल कार्यान्यवन गर्न जरुरी रहेको धारणा राखे।
सुन्दरनगर खानेपानी उपभाक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष वीरमान लामा र वरिष्ठ सल्लाहकार बलराम न्यौपानेले सुन्दरनगरवासीको सुकुम्वासी समस्या साझा भएकाले यसको छिटो समाधानका लागि पहल गरिदिन महासचिव पौडेललाई अनुरोध गरे। (रासस)