काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता भएको छ। राजपा अध्यक्षमण्डलका सदस्यले शुक्रबार आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई टिका लगाएर स्वागत गरेका थिए।
पार्टी एकीकरणमा जनमुक्ति पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा सहभागी थिए। उक्त पार्टीका दुई तिहाइभन्दा बढी केन्द्र र जिल्लास्तरका नेता राजपामा प्रवेश गरेको राजपाका नेता केशव झाले जानकारी दिए। पार्टी एकीकरण घोषणा कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताको उपस्थिति थियो ।
सो अवसरमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले अधिकारप्राप्तिको संघर्षमा एकताबद्ध भएर लाग्न अपिल गरे । आफ्ना पार्टीका सांसद रेशम चौधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै उनले सबैको अधिकार सम्बोधनका लागि सरकारलाई आग्रह गरेका छन्। अर्का नेता महतोले अधिकार प्राप्तिको आन्दोलनमा सबै उपेक्षित समुदायलाई एकजुट भएर अघि बढ्न आह्वान गरे। रासस