सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन स्वाभिमान यात्रा शुरु गरेको बताएका छन्। राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा मुलुकको राष्ट्रियता खतरामा परेकाले मेची-काली यात्रा थालेको बताए।
उनले भने, ‘हामीले यही फागुन १५ गतेदेखि शुरु गरेको मेची-काली यात्रा फागुन ३० गते काठमाडौँमा पुगेर समापन गर्दैछौँ, फागुन ७ गते नेपाल सरकारलाई बुझाएको २२बुँदे माग पूरा गर्नेतर्फ चित्त बुझ्ने गरी प्रतिबद्धता नदेखाए जनसंघर्षमा उत्रिन्छौँ ।
सनातन हिन्दू राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महङ्गी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई प्रष्ट्याउँदै आएको उनले बताए।
सङ्गठित रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने र गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।
पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्नसमेत उहाँले आग्रह गरे । रासस