काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताएका छन्।
नेपाल सरकार सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गरे। उनले भने, ‘नेपाल एउटा सार्वभौम राष्ट्र हो। यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दै । त्यसका नाममा कुनै सहमति हुन सक्दैन।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन र संविधान सशोधन गर्न सकिने पनि स्पष्ट पारे।
सरकारले सबै पक्ष र देशवासीमा समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पु¥याउनसमेत उनले सबैमा आह्वान गरे। गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष प्रचण्डसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गरे।
इञ्जिनीयर र वैज्ञानिक (टेक्नोक्र्याट) रहेका राउत गलत बाटोमा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर प्रबुद्ध व्यक्ति (थिङ्क ट्याङ्क) समेत भएको पाइएको चर्चा गरे। सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो। (रासस)