काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महिला–पुरुषबीचको एकता र उपस्थितिको आधारमा मुलुकले समृद्धि हासिल गर्ने बताएका छन्।
राजधानीको प्रज्ञा भवनमा राष्ट्रिय नागरिक विकास समाजद्वारा १०९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्दै नेता नेपालले महिला–पुरुष एकै रथका दुई पांग्रा भए पनि व्यवहारमा विभेद हुनु दुःखद भएको टिप्पणी गरे।
उनले भने, ‘अन्य देशको तुलनामा नेपालमा महिला अधिकारको सुनिश्चितता सन्तोषजनक रुपमा रहेको छ। महिलाले महिलामाथि हुने दुव्र्यवहारको अन्त्य हुनुपर्छ। योगमायाको योग्दानको कदर गर्नको लागि पनि २१औँ शताब्दीमा महिलाहरु एकजुट हुनुपर्छ। दाइजो, बोक्सी, छापडीलगायतका अत्याचारहरुको विरुद्धमा लड्नुपर्छ।’
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधानले महिला अधिकारको बारेमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
उनले भने,‘सरकारले धेरै कुराहरु बोलीरहेको छ। तर व्यवहारमा लागू गर्न सकिरहेको छैन। निर्मला पन्तका हत्यारालाई अझैसम्म पनि पक्राउ गर्न सकेको छैन। महिलाहिंसाका घटनाहरु बढिरहेका छन्। सरकारले यस्ता अपराधिक क्रियाकलापलाई निरुत्साहित पार्नको लागि तदारुकता देखाउन सक्नुपर्छ।’
कार्यक्रममा विभिन्न विधाका एक दर्जन महिला अधिकारकर्मीलाई सम्मान गरिएको समाजकी कार्यक्रम संयोजक दीपा बोहराले जानकारी दिएकी छन्।

[caption id="attachment_23562" align="alignnone" width="900"]

[/caption]