काठमाडौं – सात वर्षको उमेरमै आमा नन्दकुमारी शाहको निधनपछि कक्षा–५ को पढाई छोडेर भारतको दिल्ली पुगेकी मदनकुमारी शाह (गरिमा) त्यही पढन थालिन्। त्यहाँ उनका बुबा खड्कबहादुर शाह रोजगारीका लागि गएका थिए।
उनी भारतको दिल्लीमा रोजगारीका लागि गएका बुवासँगै बसेर कक्षा ६ देखि पढन थालिन्। त्यति बेला उनलाई न राजनीति के हो भन्ने थाहा थियो न त आन्दोलनबारे केही बुझेकी थिइनन्। तर पनि उनी त्यहाँ हुने आन्दोलनमा कहिल्यै जान छुटाउँदैनथिइन्।
नेपालीको हकहितका लागि हुने होस् वा कुनै अन्य भारतीय नागरिक र विद्यार्थीका लागि मात्रै किन नहुन ती कार्यक्रममा पनि उनी नछुटाई जान्थिन्। आन्दोलनका कार्यक्रममा सहभागी हुँदाहुँदै विस्तारै उनलाई राजनीतिप्रतिको लगाव बढ्दै गयो र चासो दिन थालिन्।
राजनीतिक जीवनमा अनेकौं उतारचढाव र संघर्ष गर्दै नेपाली राजनीतिमा लागिरहेकी शाह हाल तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन्।
भारतमा नेपालीमाथि हुने दुर्व्यवहार, हेर्ने व्यवहार लगायतका कुराले उनको मनमा चिसो पसेको थियो। त्यसकारण उनी भारतमै नेपालीहरुलाई संगठित पार्दै अधिकारका लागि नेतृत्व गर्न थालिसकेकी थिइन्। भारतमा नेपालीका संघ–संगठन खोल्नदेखि हकअधिकारका लागि आवाज उठाउँदै दूताबास घेर्न उनी पुग्ने गर्थिन्।
संघ–संगठनको नेतृत्वदेखि आन्दोलनको नेतृत्व सम्हाल्न थालेपछि उनीमाथि राजनीतिप्रतिको लगाव बढ्दै गइरहेको थियो। ‘त्यति बेला मलाई लाग्थ्यो –नेपालमा पनि भारतकै जसरी निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री अनि अन्य प्रतिनिधि निर्वाचित हुन पाउन्,’ शाहले भनिन्, ‘विस्तारै उमेर बढ्दै जाँदा र राजनीतिप्रति चासो बढ्दै जाँदा नेपालको राजनीति सुध्रेको देख्ने रहर थियो मलाई।’
त्यही सपना बोक्दै नेपाली राजनीतिमा लागेकी शाह तत्कालीन एमालेबाट सांसद बन्दै अहिले सुदूरपश्चिमको अग्रणी महिला नेतृत्वको हैसियतमा छन्। राजनीतिक जीवनमा अनेकौं उतारचढाव र संघर्ष गर्दै नेपाली राजनीतिमा लागिरहेकी शाह हाल तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन्।
कष्टपूर्ण बाल्यावस्था
गरिमा शाहको घर बाजुराको थुना भन्ने ठाउँमा भएपनि उनको जन्म अछामको कालिमाटीमा मामाघरमा भयो। बुवा कामका लागि भारतमा रहेका बेला उनीकी आमा आफ्नी सासुसँग झगडा परेर माइतीघर आएका बेला जन्म भयो।
पारिवारिक समस्याकै कारण कक्षा ५ सम्म दिदीभिजानुको घर कैलालीको धनसिङपुरमा पढेकी शाहलाई पछि बुवाले भारतको दिल्ली लगेर पढाउन थाले।
दिल्लीमै बसेर कक्षा ६ देखि स्नातकसम्मको पढाई गरेकी शाहले त्यहाँबाटै तत्कालीन नेकपा एमालेमा लागिसकेकी थिइन्। २०४६ सालमै एमालेको क्रियाशील सदस्य भइसकेकी उनी २०५७ सालमा एमालेको भाृत संगठन राष्ट्रिय परिषद सदस्य हुँदै भारत प्रवासी समन्वय संघमा आवद्ध भएकी थिइन्।
नेपाल आएर पूर्णकालीन राजनीतिमा
वि.सं. २०५७ सालमा नेपाल आएर एक वर्षसम्म टीकापुरमा मनुषा विद्यास्थली स्कूलको प्रमुख भएर काम गरेकी शाह त्यसपछि पूर्णकालीन राजनीतिमा सक्रिय भइन्।
त्यसपछि तत्कालीन एमाले नेतृत्वले पूर्णकालीन राजनीतिमा लाग्नुपर्ने भनेर काठमाडौँ बोलायो। उनी टीकापुर छाडेर काठमाडौँ आएर पार्टीको काममा लागिन्।
काठमाडौँ आएपछि उनी प्रजातान्त्रिक राष्ट्रिय युवा परिषद नेपालको केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष भइन्। तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य बनेकी शाहलाई कैलाली ईञ्चाजसँगै सेती अञ्चल समन्वय समितिको सहसंयोजकको जिम्मेवारी दिइयो।
९औँ महाधिवेशबाट केन्द्रीय सदस्य बनेकी शाहलाई २०६४ सालको चुनावमा कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनाइयो।
त्यतिबेला तत्कालीन माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएकी शाह २०७० सालमा समानुपाति कोटाबाट सांसद बनिन्।
गत वर्ष सम्पन्न चुनावमा फेरि कैलाली क्षेत्र नम्बर–१ मा पराजित भएकी शाह राजनीति संघर्ष गरेर गरिने सामाजिक सेवा भएकाले असफलतालाई सफलताको रुपमा लिँदै लागिरहने बताउँछिन्।
महिला भएकै कारण पार्टीले अवसर दिँदैन
नेतृ गरिमा शाहले राजनीति सेवालाई सेवाको रुपमा लिएकी छिन्। त्यही सोच अनुरुप नै उनी काम गर्छिन्। अघि बढ्दै आएकी छिन्। ‘राजनीति सेवा हो, त्यसमा लागि सम्पूर्ण जीवन समर्पित गर्नुपर्छ, संघर्ष गर्नुपर्छ, वर्गीय मुक्तिको लडाइँ आफैमा चुनौतीपूर्ण छ,’ शाहले भनिन्।
महिलालाई राजनीतिक यात्रा अघि बढाउन अनेकन चुनौतीहरु हुने शाहको अनुभव छ। ‘महिलाले गर्न सक्दैनन् भन्ने सोच छ, त्यसैकारण महिला नेतृहरु भन्दा तल्लो तहका पुरुष नेतालाई ठूलो जिम्मेवारीको पद दिने गरिन्छ,’ शाह भन्छिन्, ‘त्यति बेला साह्रै दु:ख लाग्छ, त्यो प्रवृत्तिको अन्त्य गर्नुपर्छ, अनि मात्रै महिलाहरु राजनीतिमा जम्न सक्छन्।’
राजनीतिमा सलग्न हुँदैगर्दा गरिमा शाहका बुवा खड्कबहादुर शाहले भनेको कुरा उनको दिमागमा ताजै छ। उनका बुबाले भनेका थिए, ‘तिमीलाई राजनीति गर्न स्वतन्त्रता छ, राम्रो गर्नु, अरु छोरीहरु पनि तिमीले राजनीति गरेको देखेर राजनीतिमा आउँन्।’
त्यतिबेलाको समयमा छोरीलाई पढाउने चलन नभए पनि उनका बुवाले शिक्षादिक्षा र राजनीतिक यात्रा अघि बढाउन प्रेरणा दिएका थिए। त्यसैलाई आत्मसाथ गर्दै राजनीति गरिरहेको उनी बताउँछन्।
‘मैले विशेषगरी महिलाका हकहितका लागि आवाज उठाउँदै आएकी छु। म संभासद हुँदा बनेको संविधानमा आमाको नामबाट नागरिकता दिने व्यवस्था, छोरीलाई छोरा सरह अंश दिने व्यवस्था गरिनु, महिलामैत्री संविधान बन्नु महत्वपूर्ण उपलब्धि हुन्,’ शाहले भनिन्।
पहिले छोरी तथा महिलाको हकअधिकार संविधानमा नसमेटिएको बताउँदै शाह अहिलेको संविधानले पछिल्लो पुस्ताका छोरी तथा महिलाको हकअधिकार सुनिश्चित गरेको प्रष्ट पारेकी छिन्।
यस कारण मैले विवाह गरिनँ: शाह
बाजुरा घर तथा अछाम मामाघर भएकी शाहको हालको स्थायी ठेगाना कैलाली टीकापुर वडा नम्बर–२ सीतापुरमा हो। तर, घर वडा नम्बर–१ मा छ।
राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेकी गरिमा शाह २०६२/०६३ को आन्दोलनमा पटक–पटक गिरफ्तार भई बन्दी जीवन बिताएकी छिन्।
राजनीतिक यात्राका दौरान शाहलाई विवाहका प्रस्तावहरु प्रशस्तै आए। ‘कोही मन परेका थिए, कोही थिएनन्। तर, मन परेकाको बिहे गर्नका लागि एउटा शर्त हुन्थ्यो –राजनीतिबाट बिदा लिनुपर्ने,’ शाहले भनिन्, ‘राजनीति छोडेर बिहे गर्नुभन्दा बिहे नै नगर्ने निधो गरेँ।’
जीवनभर राजनीतिमै लाग्ने निश्चय गरेकी शाह यसैमा अबको समय व्यतित गर्नेमा प्रष्ट छिन्। ‘सबैकुरा छोडेर राजनीतिमै लागिरहेकी छु, अब बाचुञ्जेल राजनीतिमै लागेर समाज, देश र जनताको सेवा गर्छु,’ उनले अठोट व्यक्त गरिन्।
शाहले राजनीतिक जीवनसँगै अध्ययन र लेखनलाई पनि अघि बढाइरहेकी छिन्। उनका कविता संग्रह प्रतिक्षा, लघुकथा तथा विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशित हुने गरेका छन्।