काठमाडौँ। आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन्।
दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा विभिन्न दलनका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन् ।
साक्षात्कारमा नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शाषनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि संघर्षको आवश्यकता रहेको बताइन्।
विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन्।
उनले भनिन्,‘तर महिलाले पाएका यो अधिकार र आरक्षण कसैले माया गरेर दिएको होइन, महिलाहरुले नै संघर्ष गरेर प्राप्त गरेका हुन्। आगामी दिनमा महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनु आवश्यक छ।’
पुरुष र महिलाको सम्बन्ध ‘शासक र शासित जस्तो होइन, मालिक र दास जस्तो पनि होइन, त्यसैले लोग्नेले भात पकाउन र तरकारी काट्न किन नहुने?’ रेग्मीले प्रश्न गरिन्।
रेग्मीले अमेरिकामासमेत महिलाप्रतिको दृश्टीकोण परिवर्तन भइनसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन्। अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो । उनले भनिन् ।
साक्षात्कारमा रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप लगाइन्। “८ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन । रेग्मीले भनिन् ।
रेग्मीले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कम हुने दावी गरिन्। सबै क्षेत्रको नेतृत्व तहमा रहेका पुरुषहरुले नै भ्रष्टाचार गर्ने गरेको जिकिर गर्दै रेग्मीले महिला प्रधानमन्त्री बन्ने हो भने भ्रष्टाचार रोकिने दावी गरिन्।
पछिल्लो समय महिला आन्दोलन सुस्ताएको भन्दै उनले सबै दलका महिला नेतृ र अधिकारकर्मीलाई एक हुन आग्रहसमेत गरेकी छिन्।