काठमाडौँ। १०९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला नेतृहरुले महिला अधिकार स्थापनाका लागि आन्दोलन अझै आवश्यकता रहेको बताएका छन्।
दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा विभिन्न दलनका नेतृ तथा महिला अधिकारकर्मीहरुले नेपालमा अझै पनि महिला पुरुषबीचको समानता स्थापित हुन नसकेकाले संघर्ष जारी राख्नुपर्ने बताएका हुन्।
साक्षात्कार कार्यक्रममा नेकपाकी सांसद एवम् सचेतक शान्ता चौधरीले अधिकार प्राप्तीका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन्। महिला संघर्षको उपलब्धिस्वरुप प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।
निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ती जनाइन्। पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्धा भएको दावी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरु दुई तिहाई सरकारदेखि डराउनेहरु मात्रै भएको तर्क गरिन्।
निर्मला प्रकरणबारे संसदमा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन्।
यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मला जस्ता धेरैले हिंसा बेहोर्नुपरेको छ । अरुको विषयमा नबोल्ने ? किन निर्मलाको विषयामा मात्रै बोल्ने ?” उनले प्रश्न गरिन्।