काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सदस्य कोमल वलीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छिन्। दलित समुदायप्रति लक्षित उखान टुक्का प्रयोग गर्दा आफूबाट गल्ती भएको उनको भनाइ छ। भविष्यमा यस्ता शब्द प्रयोगप्रति सचेत रहने उनले बताएकी छिन् ।
‘हिजोका कुविचार, कुव्याख्या तथा नमीठा शब्दहरू, भनाइहरू, उखानहरू, उत्पीडनहरू, समस्याहरू, सोचहरू, विचारहरू, मानसिकताहरू परिवर्तन हुँदै जाऊन्। बदलिँदो समयमा त्यस्ता उखानहरू प्रयोग गर्दा हामीले विशेष सावधानी अपनाउनु जरुरी छ ।
यो प्रकरणबाट मैले त्यही चेतना पाएको छु,’ बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेकी छिन्, ‘कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ। मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए त्यसप्रति म क्षमायाचना गर्छु।’
के थियो विवादीत शब्द ?
एक अन्तरवार्ता कार्यक्रममा सांसद वलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छन, ‘आफू मरे डुमै राजा।’ जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र आत्मसम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका थिए।
वलीको यो शब्दावलीका कारण कथित दलित समुदाय अन्तर्गत पर्ने डुम जातिको आत्मसम्मानमा ठेस पुगेको ददित अधिकारकर्मीहरुले प्रतिक्रिया दिएका थिए। संविधान र कानुनले निर्दिष्ट गरे विपरितको शब्द प्रयोग गरेकी वलीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने अधिकारकर्मीहरुको माग छ।
वलीलाई जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को दफा ४ को उपदफा १२ बमोजिम कारबाहीको माग गरिएको छ। ५६ मिनेट २३ सेकेण्डको उक्त “इट्स माई सो” कार्यक्रमको ४७ मिनेट ५० सेकेण्ड जाँदा सांसद ओलीले मृत्युपछिको प्रसंग चलिरहँदा ‘आफु मरिसकेपछि डुमै राजा’ भन्ने शब्दावली प्रयोग गरेकी छन्।