काठमाडौँ–एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ। निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ।
जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए।
प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ। अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धा्रित समयमा नै काम सकिने अनुमान छ। जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो। सो अवसरमा उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्ने बताउनुभएको थियो। हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ।
पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट पनि हुनेछ। साथै एउटा परम्परागत भ¥याङ रहनेछ। लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ।
दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो। कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।
निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ। पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ। जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ।
एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए।
तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ। अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
रानीपोखरीको पनि पुनःनिर्माण
भूकम्पका कारण पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा रानीपोखरीको पनि यसै सातादेखि पुनःनिर्माण कार्य प्रारम्भ भएको छ। क्षति पुगेको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाबाट निर्माणको काम हुन नसके पनि अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको काम थालेको हो।
राष्ट्रप्रमुखबाट तीन वर्ष अघि शिलान्यास भए पनि पुनःनिर्माण शुरु नभएको उक्त पोखरीको निर्माण कार्यअन्तर्गत अहिले सफा गर्ने काम धमाधम भइरहेको छ।
२ माघ २०७२ मा शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको काम शुरुमा काठमाडौँ महानगरपालिकाले पाएको थियो तर, महानगरले ठेकदारमार्फत् काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एकपछि अर्को विवाद भएपछि काम हुन नसकेको हो। आउने तिहारमा पोखरीमा पानी भर्ने गरी काम गरिने प्राधिकरणले जनाएको छ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो। (रासस)