एजेन्सी, अमेरिका – यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुखद भएको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएको भोलिपल्ट राष्ट्रपति ट्रम्पको यो धारणा आएको हो।
राष्ट्रपति ट्रम्पले केही समाचारमा उत्तर कोरियाले रकेट प्रक्षेपणका लागि रकेट परीक्षण ‘साइट’ निर्माण गर्न लागेको भनी आएको स्मरण गराउँदै यदि यो समाचारअनुरूप नै काम भएको हो भने त्यो निराशाजनक छ भनेका छन्।
उत्तर कोरियाले तोङचाङ्री लाउन्ज फेसिलिटी क्षेत्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमले दिएका थिए। वासिङ्टनको एक संस्थालाई उद्धृत गरी ती सञ्चारमाध्यमले सो समाचार दिएका थिए। उक्त संस्थाले आफ्नो अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएको भन्दै समाचार सार्वजनिक गरेको थियो।
समाचारदातासँग राष्ट्रपति ट्रम्पले भने, ‘यस्तो घटना त्यहाँ (उत्तर कोरियामा) भइरहेको हो भने यसले मलाई निकै नै निराश बनाउने छ, तर पनि यो समाचार तत्कालै आएकोले अपरिपक्व पनि हुन सक्छ, मैले अध्ययन गर्नेछु।’ तर पनि उत्तर कोरियामा अहिले नै आणविक हतियार तथा आणविक शक्ति केन्द्रहरु निर्माण हुने गरी नै क्रियाकलापहरु भने नभएको समाचार एक समाचार समितिले हालैमात्र सम्पे्रषण गरेको थियो।
उक्त समाचार समितिको समाचारमा उल्लेख गरिएको छ– सन् २०१७ देखि नै स्थगित भएको आणविक कार्यक्रमलाई पुनस्र्थापना गर्नेगरी उत्तर कोरियामा काम भने भएका छैनन्, त्यति धेरै कामहरु भएको जस्तो लाग्दैन।
यसै विषयमा लिन खोजिएको प्रतिक्रियामा अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डर्सले भने कुनै प्रतिक्रिया दिन चाहेनन्। तर उनले यस विषयका अतिरिक्त अमेरिकाले उत्तर कोरियासँग निरन्तर वार्ता गर्ने जानकारी भने दिएको सो समाचारमा जनाइएको छ।
मङ्गलबार मात्र अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले एक अन्तर्वार्तामा निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको पनि बताएका थिए।
अमेरिकाले उत्तर कोरिया यसअघिका सहमतिका साथै निशस्त्रीकरणको विषयमा कत्तिको गम्भीर छ र त्यस विषयमा उसले के कति कामहरु गरिरहेको छ भनेर हेरिरहेको बताउउँदै आएको छ। गत वर्षको जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको थियो। त्यसको पालना भएको उत्तर कोरियाको दाबी छ।
सोही सहमतिपछि नै उत्तर कोरियाले आणविक उत्पादन एवम् परीक्षण नगरेको दाबी उसको छ। सोही बमोजिम नै उत्तर कोरियाले आणविक परीक्षण गरेका समाचारहरु पनि अाएका छैनन्। तर पनि उत्तर कोरियाले गरेको सो प्रतिबद्धताअनुरूप आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ। सोही प्रक्रियाको विषयमा अमेरिकी सञ्चारमाध्यमहरुले विभिन्न समाचार दिने गरेका छन्।
सुरक्षा सल्लाहकार बोल्टनले भनेका छन, ‘यदि उत्तर कोरिया विगतको सो सहमतिको पक्षमा देखिएन भने अथवा उ निशस्त्रीकरणका लागि तयार भएन भने उसमाथि लगाइएको नाकाबन्दी आर्थिक हट्दैन, हटने छैन।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको शिखर वार्ता भएको थियो। सो वार्तामा कुनै पनि विषयमा सम्झौता भने नभएको बताइएको छ। उनीहरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाई छ।
उनीहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो। सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो। अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने बताउँदै आएको छ। हनोइ बैठकपछि राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘कुनै विषयमा सम्झौता नै नभएको भए पनि वार्तालाई भने निरन्तरता दिइने छ, हनोई वार्ता सकारात्मक भएको छ।’