विराटनगर – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गरे।
अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गरे।
उनले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताए। उनको पार्टीबाट विजयी सांसद रेशम चौधरीलाई टीकापुर हत्या काण्डको मुख्य योजनाकार ठहर गर्दै बुधबार अदालतले जन्मकैदको सजाय सुनाएको थियो।
यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए। मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सवै सत्यतपथ्य जनताले थाहा पाउने बताए।
सप्तरीको मलेठको कार्यक्रमका लागि पार्टीका अध्यक्ष मण्डलका सदस्य महतो, भण्डारी र महेन्द्र राय यादव आज विराटनगर आएका हुन् (रासस)