काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन आज ६ दिने जिल्ला भ्रमणमा जाँदैछन्।
कांग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने बताएको छ।
केन्द्रीय कार्यालयको भ्रमण तालिकाअनुसार सभापति देउवा बिहीबार बिहान विराटनगर प्रस्थान गर्ने छन्। त्यहाँ उनले कांग्रेसका तर्फबाट निर्वाचित विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसँग पार्टी र विकास निर्माणका बारेमा छलफल गर्नेछन्। आजै देउवा मोरङबाट निर्वाचित कांग्रेसका सांसदसँग छलफल कार्यक्रममा सहभागी भई काठमाडौँ फर्कने छन्।
सभापति देउवा पुनः कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा जानेछन्। फागुन २५ गते बिहान देउवा पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी पुगि त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटन कार्यक्रममा सहभागि हुनेछन्।
फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै देउवा पर्वतको जलजला गाउँपालिकाको मिलनचोक पुग्ने र त्यहाँ कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नेछन्। सोही दिन उनी बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ।
फागुन २७ गते बिहान देउवा बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा पुगि कांग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरेर पोखरा फर्कने छन्। त्यसदिन पोखराका कार्यकर्तासँग छलफल गरि फागुन २८ गते बिहान सभापति देउवा काठमाडौँ फर्कने भ्रमण तालिका पार्टीले सार्वजनिक गरेको छ।