काठमाडौँ - महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज (बुधबार) दक्षिणासहित बिदाइ गरिएको छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज उनीहरूलाई दक्षिणासहित बिदा गरेकाे हाे।
साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका छन्। साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने, बस्ने र धुनीको व्यवस्था संस्थान तथा कोषले गरेका थिए।
गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी ६ वर्गका नागाबाबालाई रु. १ हजार ३ सयदेखि रु. १ हजार ८ सयसम्म दक्षिणा दिइएको साधु सन्त बिदाइ समिति संयोजक हरिप्रसाद जोशीले जानकारी दिए। ६ वर्गका ३ सयजना नागा बाबालाई बिदाइ गरिएको उनले बताए।
अन्य महन्तमा मठाधीशलाई रु. ९ सय ५१, सामान्य सन्तलाई रु. ५ सय ५१ र सन्तको भेषधारीलाई रु. ३ सय ५१ दक्षिणा दिइएको हो। यस्ता ७ हजारसहित जम्मा ७ हजार ३ सय सन्तलाई बिदाइ गरिएको हो।
संस्थानले साधुसन्त बिदाइका लागि रु. १९ लाख बजेट छुट्याएको थियो। कोषले ४ हजार ५ सय सन्तलाई बिदाइ गरेको छ। कोषले ५ वर्गमा विभाजन गरी साधुलाई बिदाइ गरेको सदस्यसचिव डा. प्रदीप ढकालले बताए। साधुसन्त बिदाइकै लागि कोषले रु. १३ लाख बजेट छुट्याएको जनाइएको छ।
महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर, पशुपतिस्थित निर्मल अखडा, भष्मेश्वर, उमाकुण्ड, अन्नपूर्ण भण्डार, कालमोचनघाटको राम मन्दिर, पुडाक्षी अखडा, सन्न्यासी अखडा र गोरखनाथ अखडामा साधुसन्तलाई राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो।
महाशिवरात्रिका लागि भारतका विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदाका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ। (रासस)