काठमाडौँ–नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन छ दिने जिल्ला भ्रमणमा जाने भएका छन्।
काङ्ग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ।
भ्रमण तालिकाअनुसार उनी बिहीबार बिहान विराटनगर प्रस्थान गर्नेछन्। मोरङबाट काङ्ग्रेसका तर्फबाट निर्वा्चित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा देउवा सहभागी हुनुहुनेछन्। सोही दिन मोरङबाट निर्वा्चित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई उनीँ काठमाडौँ फर्कने छन्।
सभापति देउवा कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा प्रस्थान गर्ने पार्टी कार्यालयले जनाएको छ। उनी फागुन २५ गते बिहान पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ काङ्ग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्ने कार्यतालका छ।
सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ काङ्ग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्ने बथताइएको छ। सोही दिन उनी बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ।
फागुन २७ गते बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र काङ्ग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी देउवा पोखरा प्रस्थान गर्नेछन्। त्यसदिन पोखरामै बस्ने र फागुन २८ गते बिहान काठमाडौँ फर्कर्ने भ्रमण तालिका पार्टीले सार्वजनिक गरेको छ। (रासस)