काठमाडौं – प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षकमा माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले स्थायीको माग गर्दै राहत शिक्षक र बालविकास शिक्षकले थालेको आन्दोलनमाथि सरकारले बल प्रयोग गरिरहेकोप्रति आपत्ति प्रकट गरेका हुन्।
‘देशभरिबाट ४० हजार राहत शिक्षक र ३६ हजार बालविकास शिक्षक आफ्ना माग पूरा गराउन चार दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्,’ उनले भने, ‘सरकारले शान्तिपूर्ण आन्दोलनमा पनि पञ्चायती शैलीमा दमन गरिरहेको छ। लोकतान्त्रिक सरकारको व्यवहार पञ्चायती सरकारको जस्तो भयो।’
राहत शिक्षक र बालविकास शिक्षकसँग यसअघि सरकारले सम्झौता गरेको स्मरण गर्दै यादवले सम्झौता अनुसार माग पूरा गर्न र दोहोरो चरित्र नदेखाउन सरकारलाई आग्रह गरे।
‘यसअघि राहत शिक्षक र बालविकास शिक्षकसँग आफै सम्झौता गर्ने, अहिले आएर नयाँ शिक्षा ऐन सम्झौता विपरीत ल्याउने?,’ उनले थपे, ‘रोजगारी दिलाउने भन्दै समृद्धिका नारा लगाउने सरकारले राहत शिक्षक र बालविकास शिक्षकलाई गाइगोरु चराउन पठाउन लागेको हो?’
यादवले राहत शिक्षक र बालविकास शिक्षकसँग तत्काल वार्ता गरेर माग पुरा गर्न पनि सरकारसँग माग गरेका छन्।