झापा । प्रधानमन्त्री केपी ओलीले कम्युनिस्ट पार्टीको नाममा हतियार देखाएर चन्दा उठाउने पार्टीलाई सरकारले नछोड्ने बताएका छन्। झापा विद्रोहको ४६औं सहिद स्मृति दिवसका अवसरमा मंगलबार झापा र इलामको सीमावर्ती सुखानीमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘ कम्युनिस्ट पार्टीको नाममा मुलुकमा अराजकता निम्त्याउन कसैलाई छुट छैन, त्यस्तो अवस्थामा कम्युनिस्ट सरकारले कम्युनिस्ट पार्टीलाइनै दमन गर्याे भन्ने भ्रममा नपर्न समेत आग्रह गर्दछु।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले सहिदको सपनाअनुसार आफूहरूले तत्कालीन एमाले र माओवादी केन्द्रलाई एकीकृत गरी कम्युनिस्ट आन्दोलन सफल बनाइसकेको दाबी गरे। कम्युनिस्ट आन्दोलनका सहिदको सपनाअनुसार नै मुलुकबाट पञ्चायत, राजतन्त्र र निरंकुशता अन्त्य गर्दै कम्युनिस्ट पार्टीको बहुमतको सरकार निर्माण गरेको ओलीको भनाई छ।
मुलुकबाट पञ्चायत, राजतन्त्र, निरंकुशता फाल्यौं र कम्युनिस्टहरूको बहुमत सरकार पनि निर्माण गरेका छौं । यो सबै सहिदको सपना थियो। त्यो हामीले पूरा गरेका छौं,’ उनले भने।
प्रधानमन्त्री ओलीले अर्ध भूमिगत रुपमा रहेको नेकपा ‘विप्लव’ माओवादीलाई इंगिद गर्दै भने, ‘कम्युनिस्टको नाममा कुनै पार्टी वा समूह बाहिर भए नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकीकृत हुन आउन आहवान गर्दछु।’
मुलुकमा परिवर्तन र कम्युनिस्ट पार्टीका लागि विभिन्न समयमा सहादत प्राप्त गरेका सबै सहिदलाई समान दृष्टिले हेर्ने उल्लेख गर्दै ओलीले कुनै आन्दोलनका कुनै सहिदलाई काखा र कुनैलाई पाखा नगरिने स्पष्ट पारे।
त्यस्तै श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकता प्रक्रिया केही दिनभित्रै पूरा हुने बताए।
उनले पार्टी एकता प्रक्रिया लम्बिँदा तल्लो तहमा केही आशंका उब्जिए पनि त्यो अवस्था अब दुईरचार दिनभित्रै टुंगो लगाउने जानकारी दिए। झापा विद्रोहका सहिद र माओवादीको सशस्त्र युद्धका सहिदलाई एकीकृत गरेर अघि बढ्ने पक्षमा आफू रहेको बताउँदै प्रचण्डले भने,‘नेपालमा कम्युनिस्ट आन्दोलन र सरकारलाई सफल बनाउन यी दुवै आन्दोलनका सहिदलाई समान दृष्टिले व्यवहार गरिने छ।’
अध्यक्षद्वय ओली-प्रचण्डले झापा विद्रोहका क्रममा सुखानीमा मारिएका ५ सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको शालिकमा माल्यार्पण गरेका थिए।