दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, ‘योद्धाहरुले मृत्युसँग डराउनु हुँदैन, डराउने मान्छेले परिवर्तनको नेतृत्व गर्न सक्दैन।’ वास्तवमै मण्डेला निडर थिए, जनताको सेवामा नि:स्वार्थ लागे। त्यही निष्ठाका आधारमा उनले दक्षिण अफ्रिकालाई समानतामूलक, समतामूलक र आर्थिक रुपमा सम्पन्न राष्ट्र बनाए। २७ वर्षको जेलजीवन र कयौं अफ्रिकीको बलिदानीपूर्ण संघर्षबाट नै अंग्रेजहरुको शासनको अन्त्य भयो।
दक्षिण अफ्रिकाको त्यो स्वतन्त्रताको लडाइँ र अहिले नेपाली नागरिकको शान्ति, स्थिरता, लोकतन्त्र र अधिकारका पक्षमा भएको लडाइँ धेरै फरक छैन। अफ्रिकामा अर्कै देशका सामन्तहरु आएर शासन गरे, पछि त्यहाँका मूलबासीले तिनीहरुलाई संघर्षको माध्यमबाट लखेटे। र, देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सफल भए। नेपाल कहिल्यै कसैको अधीनमा नरहे पनि सधैँ यहीका सामन्तहरुको कब्जामा रहिरह्यो।
राणा हटेपछि शाहले, शाह हटेपछि जनताले चुनेर पठाएकै नयाँ-नयाँ महाराजहरुले लोकतन्त्रलाई आफ्नो पेवा ठाने। संघीय राज्य व्यवस्थामा पनि केन्द्रीकृत शासन व्यवस्थाको पुरानै ढर्राले जनतामाथि बलात शासन भई नै रहेको छ। सामन्तहरुको अनुहार फेरिएको छ। शासकीय शैली फेरिएको छ। तर, प्रवृत्ति जस्ताको तस्तै छ। नेपाली नागरिकको विकास, समृद्धि र सुशासनको चाहनामा यो नै सबैभन्दा ठूलो अभिशाप बन्न पुगेको छ।
सुखानी र ओलीको सत्ता साइनो
अंग्रेजी साहित्यका महान हस्ती विलियम सेक्सपियरले भनेका छन्, ‘तिमी जति विचारमा महान छौं, व्यवहारमा पनि त्यति नै महान बन।’ फागुन २१ गते आज सुखानी शहीद स्मृति दिवस मनाइरहँदा केही गम्भीर प्रश्नहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हर्ताकर्ता केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको दुई साता मात्रै बित्दै छ। तर, सुखानीका शहीदको रगतसँग साटिएको सत्तामा विराजमान खड्गप्रसाद ओली नवसामन्त र माफियाका दूत बन्न पुगेका छन्। उनको कार्यशैली, व्यवहार, प्रवृत्ति र चरित्रले पनि यसको पुष्टि गरिरहेको छ।
‘मेरो हातबाट फुत्कियो भने सकियो’ भन्ने सोच उनमा हावी भएपछि राज्य सञ्चालनको संकट झेल्न प्रदेश सरकारहरु बाध्य छन्। विचारमा महान देखिने ओली व्यावहारिक रुपमा ज्यादै कमजोर देखिएका छन्।
सेक्सपियरको भनाइमाथि अलिकति विचार पुर्याउने हो भने पनि ओलीको बोली र प्रचण्डको प्रस्तुतिले धेरै कुरालाई सहज अर्थमा पुष्टि गरिदिन्छ। ओली तिनै सुखानीका शहीदहरुले आफूलाई गुमाएर दिएको ताकतले नै अहिले सत्तामा छन्। तर, ती शहीदहरुको सपनाप्रति कत्तिको जिम्मेवार छन् भन्ने कुरा चाहिँ दोश्रो प्रश्न हो। नागरिकका स–साना आवश्यकताहरु पूरा नभएका बखत नेपाल राष्ट्रले आफ्नै पानीजहाज, रेल र पाइपलाइनबाट ग्यास ल्याउनेजस्ता हावादारी गफ पिट्नमै उनी व्यस्त छ। त्यति मात्रै होइन, संघीय सरकारको मातहतमा सबै शक्ति थुपारेर प्रदेशहरुलाई संकटग्रस्त बनाउन पनि ओली उद्दत देखिन्छन्। पहिलेकै शाही र राणा शासकको केन्द्रीकृत मनोवृत्तिबाट ओली ग्रस्त छन्। ‘मेरो हातबाट फुत्कियो भने सकियो’ भन्ने सोच उनमा हावी भएपछि राज्य सञ्चालनको संकट झेल्न प्रदेश सरकारहरु बाध्य छन्। विचारमा महान देखिने ओली व्यावहारिक रुपमा ज्यादै कमजोर देखिएका छन्।
सुखानीमा ‘गोहीकाे आँशु’
२०७२ सालमा तत्कालीन सरकारले सुखानीमा सहादत प्राप्त गरेकासहित २२ योद्धालाई शहीद घोषणा गर्यो। पञ्चायती शासनविरुद्ध संघर्षरत रहँदा तत्कालीन सत्ताबाट हत्या गरिएका योद्धाहरुको योगदानको कदर गर्दै शहीद घोषणा गरिएको थियो। मण्डेलाले भनेजस्तै देश र जनताका लागि मर्न नडराउने शहीदहरुप्रतिको श्रद्धाका रुपमा पनि यो घोषणालाई लिन सकिन्छ।
हुन पनि ती योद्धाहरुले पनि यस्तै सपना देखेका थिए। त्यही सपनालाई पूरा गर्न क्रान्तिमा होमिएका थिए उनीहरु। तर, ती शहीदको परिवारको हालत र खोजखबर कसैले गर्दैन अहिले। मर्ने मर्यो, सरकारले शहीद घोषणा गर्यो। तर, परिवारका सदस्य सधैँ संकटग्रस्त जीवन भोगिरहेका छन्। सधैँको अभाव र चरम गरिवीमा पिल्सिएका छन् शहीदका परिवार। मुश्किलले वर्षमा एक पटक खादा र अबीरले शीर रंग्याउने अवसर सत्तामा पुगेका नवधनाढ्य कामरेडहरुले सिर्जना गरिदिएका छन्।
हुन त क्रान्तिवीर विरङ्गनाहरुको निसानी सुखानी सधैँ नेपाली वामपन्थी राजनीतिको केन्द्र वरिपरि घुमिरहेको हुन्छ। वि.सं. २०२९ साल फागुन २१ गते तत्कालीन राज्यसत्ताले झापाको चन्द्रगढीस्थित कारागारबाट जिल्ला कारागार इलाममा सार्ने बहानामा झापाको खुदुनाबारी र इलामको दानाबारीको सीमावर्ती सुखानी जंगलमा हत्या गरिएका पाँचै जना कम्युनिष्ट क्रान्तिकारी योद्धाहरुको सम्झना गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि जनतामा एउटा उत्साह प्रवाह भएको थियो। युवाहरुमा राज्य सत्ता परिवर्तन गरेर सुशासन कायम गर्ने जोश पनि जागेको थियो। तर, तत्कालीन शासकहरुलाई देश निर्माण गर्ने युवाहरुको त्यो अभियान कति पनि मन परेको थिएन। त्यसैले कहिले सुखानीमा त कहिले बेथानका चौकीहरुमा, कहिले संखुवासभाको जलजलालाई युवाहरुको रगतबाट रक्ताम्मै पारियो। कहिले हरि नेपाल मारिए, कहिले रत्नकुमार बान्तवाको हत्या भयो। त्यही शहीद बन्ने सूचीमा थपिए, पाँच युवा –रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेनसिंह राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठ। यी पाँच जना जुझारु युवाहरु नेपाली वाम आन्दोलनका नक्षत्र हुन्।
‘प्रचण्ड र केपीजी, तपाईंहरु नवसामन्त बन्न, नवधनाढ्य बन्न मात्रै हामीलाई शहीद बनाउनु भएको? अथवा क्षणिक स्वार्थकै निम्ति हाम्रो बलिदानी हो?’
नेपाली कम्युनिष्ट आन्दोलनले आज पनि उनीहरुको बलिदानप्रति गर्व गर्छ। ओली र प्रचण्डहरु तिनै शहीदहरुको रगतले सिञ्चिएको सुखानीमा शीर झुकाउन पुगे मंगलबार। र, शहीदको सपना पूरा गर्ने शपथ पनि खाए। तर यो नयाँ चाहिँ होइन। यस्तै शपथ उनीहरुले वर्षेनी खाँदै आएका छन्। यो यात्रा अनवरत जारी रहन्छ, यो पक्कापक्की जस्तै हो।
ओली र प्रचण्ड सुखानी पुगे। शीर झुकाए। सायद ती शहीदको आत्माले पनि पक्कै उनीहरुलाई सोधे, ‘प्रचण्ड र केपीजी, तपाईंहरु नवसामन्त बन्न, नवधनाढ्य बन्न मात्रै हामीलाई शहीद बनाउनु भएको? अथवा क्षणिक स्वार्थकै निम्ति हाम्रो बलिदानी हो?’ जवाफमा आँशु झार्न–झार्न खोज्दै ओली र प्रचण्डले चर्को स्वरमा भने, ‘कामरेडहरु, हामी शहीदका सपना पूरा गर्छौं।’ तर, ती शब्द त्यही अन्त्य गरेर ओली र प्रचण्ड हसिन मुद्रामा फर्किन्छन्, कुर्सीतिर। बाँकी ‘गोहीका आँशु’ सुखानीकै जंगलतिर विश्राम लिन्छन्।
सुस्ताउँदैछन् सुखानीका शहीद
हुन त नागरिकको हितमा काम गर्न कम्युनिष्ट पार्टीहरुलाई दवाव दिइरहन्छ सुखानी। सुखानी निरन्तर खबरदारीको अर्को नाम पनि हो, तर जिम्मेवारहरुका लागि मात्रै। दृश्यात्मक वर्णन गर्दा, फागुन २१ गतेभन्दा ठिक एक सातादेखि सुखानी शहीद स्मृतिपार्कमा रङ्गरोगन गर्न थालिन्छ। फोहोरमैलाको व्यवस्थापन गर्न थालिन्छ। पार्कको फलामे पर्खाल चम्काइन्छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित वामपन्थी पार्टी शहीद स्मृति दिवस मनाउन जोडतोडले लाग्छन्। कोभन्दा को वीर? कोभन्दा को क्रान्तिकारी? कुन पार्टीको सभामा सबैभन्दा बढी सहभागिता? त्यही ध्याउन्नमा हुन्छन् सबै वाम कार्यकर्ता। त्यहाँ पुगेका हरेक वामपन्थी दलका नेताले आ–आफ्नो गुणगान गाएर फर्किन्छन्। त्यसपछि एक वर्षका लागि लेठो छिन्यो। अर्को फागुन २१ सम्म कुनै नेता–कार्यकर्ताको नाकमुखसम्म देखिँदैन।
तर, दुईतिहाइको सरकार बन्छ, उखान सुनाउँछ, ‘जनता अघाओ, यही हो खानेकुरा।’ ‘लगाओ, यही हो लाउने कुरा’ भन्छ। जे होस् सरकारले उखान टुक्का राम्रैसँग सुनाउँछ।
वामपन्थीहरुले श्रद्धाले पुज्ने स्थानमा राजनीतिक लाभको अखडा बनाइएको छ। विश्वभर वामपन्थी, मार्क्सवादी विचारलाई पुँजीवादको छाँयाले ढाकिरहेका बेला नेपालमा चाहिँ केही गर्लान् कि भन्ने आशले जनताले ‘कामरेड’हरुलाई सत्ताको साँचो बुझाइरहेका छन्। तर, दुईतिहाइको सरकार बन्छ, उखान सुनाउँछ, ‘जनता अघाओ, यही हो खानेकुरा।’ ‘लगाओ, यही हो लाउने कुरा’ भन्छ। जे होस् सरकारले उखान टुक्का राम्रैसँग सुनाउँछ।
सुखानी अहिले पनि परिवर्तनको पक्षमा छ। तर, ठेक्कापट्टा, कालोधन र तस्करीमा निर्लिप्त रहेका तमाम ‘कामरेड’हरु वर्षमा एकपटक फुर्सद निकालेरै भएपनि सुखानीमा प्रवचन दिन पुगेकै हुन्छन्। यसैको बलमा हाम्रा कामरेडहरु निरन्तर नवधनाढ्य बन्नेतर्फ अग्रसर छन्। अझ भनौँ, सुखानी शहीदका नाममा राजनीतिक र आर्थिक व्यापार राम्रै चलिरहेको छ।
तर, सुखानी पार्क वर्षभरि अलपत्र रहन्छ। गेटमा चावी छैन। भित्तामा अपशब्द लेखिएको हुन्छ। १० वर्षअघि फागुन २१ गते आयोजित सभामा नेकपाका अध्यक्ष प्रचण्डले गुरुयोजना बनाएरै सुखानी स्मृतिपार्कलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने घोषणा गरे। अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले त के–के न गर्छौ भने। तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले पनि इलाम र झापाको संगमस्थल सुखानीलाई पर्यटन केन्द्रको रुपमा विकास गर्ने घोषणा गरे। तर, उनीहरुको घोषणा कार्यान्वयन भएन। सामान्य संरचनाहरु बने, पार्क बन्यो। तर, मुख्य मुद्दा अर्थात् सुखानी शहीदका परिवारका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा कसैको ध्यान गएन।
हुन त नेपाली जनताका मुक्ति र परिवर्तनका खातिर रगत बगाएका ती युवाहरु आज पनि सुखानीसँगै सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनमा जीवित छन्। वर्ग संघर्षमा होमिएका हरेक नागरिकको मन मुटुमा ती शहीदहरु सजिएका छन्। अपितु, उनीहरुको सपनाको सन्दुक भिरेर हिँडेका ओली र प्रचण्डहरु त्यही सन्दुकलाई देखाएर पटक–पटक सत्तामा पुग्छन्। तर, न शहीदका परिवारको भोको पेट भरिन्छ, न त जनताको विकास र समृद्धिको चाहना नै पुरा हुन्छ। केही थान खड्गप्रसाद ओली र प्रचण्डहरुलाई नवसामन्त र माफियाका दूत बनेर सत्ताको भोक मेट्ने बाटो चाहिँ राम्रैसँग मिलेको छ।