काठमाडौँ । सर्वोच्च अदालतको फैसला अनुसार छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।
उनी नागार्जुन नगरपालिका–५, सीतापाइला बस्ने काठमाडौँ महानगरपालिका–२४ वटु घर भएका हुन्। केन्द्रीय प्रहरी प्रबक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, श्रेष्ठले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडसँग सम्बन्धित रहेर निक्षेपकर्ता र संस्थाको हित विपरीत अनियमित तथा गैरकानुनी काम गरेका थिए। सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले उनलाई दुईवटा मुद्दामा कुल १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ र ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ जरिवाना तोक्दै प्रत्येकमा तीन वर्ष कैदको सजाय सुनाएको थियो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ।