काठमाडौँ — सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनहरुले व्यक्तिगत स्वार्थ पूर्तिको लागि लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न राहत शिक्षकहरुलाई आग्रह गरेका छन्।
अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङद्वारा जारी संयुक्त विज्ञप्तिमा विद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न शिक्षकहरुलाई सुझाइएको छ। साथै खुला प्रतिस्पर्धालाई स्वीकारेर अघि बढ्न अनुरोध गरे विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।
स्वत: स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्वीकारेर अगाडि बढ्न अनुरोध गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेगरी विद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न अनुरोधसमेत गर्दछौं।’
अध्यक्षद्वय लामा र तामाङद्वारा विद्यार्थी संगठनहरुले स्वतस् स्थायी गर्नुपर्ने राहत शिक्षकहरुको माग शिक्षा क्षेत्रको लागि घातक रहेको ठहर गरेका छन्। आन्दोलनको दवावमा त्यस प्रकारको सहमति र सम्झौता गरिए सरकारविरुद्ध आन्दोलन गर्नेसमेत अनेरास्ववियु र अखिल क्रान्तिकारीले चेतावनी दिएका छन्।