धनबहादुर लावती –
विसं २०२० मा पहाडबाट बसाइँ सरेर यहाँ आएको हुँ। त्यो बेला यो क्षेत्रमा एउटै घर थिएन। वर्षको ३० रुपैयाँ तिर्ने शर्तमा मैले जग्गा लिएर दोकान गर्न थालेँ। कटेरो बनाएँ। जाँडरक्सी र सुर्ती त्यतिबेलाको मुख्य व्यापार थियो। त्यहाँ मेरो ९ वर्षदेखि यस्तै दैनिकी थियो।
विसं २०२९ को फागुन २९ मेरो जीवनमै सबैभन्दा त्रसित दिन हो। बिहानै दोकान खोलेँ, दिनभर मान्छेको आउँजाउँ भइरह्यो। दोकानदारी राम्रै चल्यो। साँझपख प्रहरीको जत्था आयो। उनीहरूसँग पाँच जना युवा पनि थिए। पाँचै जनालाई एक–एक हातमा हतकडी लगाइएको थियो।
केही समयअघि मेरो दोकानमा आएका कलिला किशोरलाई प्रहरीले निमोठेछन्। हामीले स्याउलाले छोपछाप गरेका लाशहरू देख्यौँ। छेउमा प्रहरीहरू थिए।
दोकान बाहिरको बेञ्चमा बसेर खुट्टा लड्खराउञ्जेल जाँड धोकेका प्रहरीले ती पाँचै जना युवालाई हिँडाए। मैले ती युवालाई त्यो दिनअघि कहिल्यै देखेको थिइनँ। उनीहरूमा जोश देखिन्थ्यो। उत्साह र आत्मविश्वास पनि उनीहरूको मुहारमा झल्किरहेको थियो।
रामनाथ दाहाल, अलि अग्ला थिए। उनले यत्रो बाटो केही नखाई हिँड्न सकिँदैन भनी केही खान मागे। त्यसपछि पाँचै जना युवालाई घिसार्दै प्रहरीको टोली अघि बढ्यो। त्यसको १ घण्टापछि सुखानीको जंगलमा बास बस्न लागेका चराचुरुंगीलाई बिच्क्याउने गरी गोली चल्यो।
गाउँमा सन्त्रास छायो। घाँस, दाउरा र बाँस काट्न गएका छिमेकीहरू नराम्रो खबर लिएर फर्किए। केही समयअघि मेरो दोकानमा आएका कलिला किशोरलाई प्रहरीले निमोठेछन्। हामीले स्याउलाले छोपछाप गरेका लाशहरू देख्यौँ। छेउमा प्रहरीहरू थिए।
पाँचै युवाको हत्यापछि चन्द्रगढीबाट थप प्रहरी आएका थिए। यसरी नै ती कलिला किशोर सदाका लागि हामीबाट बिदा भए। तर, त्यो दिनयता ती पाँचै युवा मेरो मनमा छापजस्तै बनेर बसेका छन्। बुढ्यौलीले त्यो बेलाका धेरै कुरा बिर्सिएँ। तर, उनीहरूको अनुहार अझै झलझली आइरहन्छ। ती युवा साँच्चै बहादुर थिए।
(८१ वर्षीय लावतीसँग गरिएको कुराकानीमा आधारित)