काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको एक भेलाले विधानमा उल्लेखित स्वत: प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्न भएको निर्णय उल्ट्याइएकोमा आपत्ति प्रकट गरेका छन्।
साथै महासमिति बैठकबाट पास भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्ट्याइएको खबरले आफूहरु आश्चर्यचकित भएको पनि जिल्ला सभापतिहरुले उल्लेख गरेका छन्।
५६ जिल्लाका सभापतिहरुले मंगलबार जारी गरेको विज्ञप्तिमाा महासमितिभन्दा केन्द्रीय कार्य समिति ठूलो हुन नसक्ने कुरालाई पूर्णतः उपेक्षा गरेको र पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समाप्त गर्ने काममा केही नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण रहेको बताइएको छ।
‘नेपाली कांग्रेसको २०७५ पुस २९ गतेदेखि माघ ९ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्तावअनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यवद्धता जनाउनुभएको थियो,’ जिल्ला सभापतिहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी महासमिति बैठकबाट पास भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्ट्याएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ।’
उक्त दुई विषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको महासमिति सदस्यहरुको हस्ताक्षरलाई बेवास्ता गरी संशोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रिनु अझै हास्यास्पद रहेको टिप्पणी विज्ञप्तिमा गरिएको छ।
‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णयमाथि शीघ्र पुनर्विचार गर्न जोडदार माग गर्दछौं। अन्यथा विशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौं।’
यसरी हस्ताक्षर गर्नेहरुमा प्रदेश नम्बर–१ बाट ताप्लेजुङ जिल्ला सभापति लिलादेवी बोखिम, पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङ, इलाम जिल्ला सभापति हिमालय कर्माचार्य, झापा जिल्ला सभापति उद्धव थापा, तेह्रथुम जिल्ला सभापति गोविन्द ढुंगाना, भोजपुर जिल्ला सभापति नन्दमणि राई, खोटाङ जिल्ला सभापति नरेशकुमार श्रेष्ठ सोलुखम्बु जिल्ला सभापति विनोद बस्नेत, सुनसरी जिल्ला सभापति राजीव कोइराला, मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु उदयपुर जिल्ला सभापति बिदुर बस्नेत र संखुवासभा जिल्ला सभापति दीपेनकुमार श्रेष्ठ रहेका छन्।
त्यसैगरी, प्रदेश नम्बर–२ को रौतहट जिल्ला सभापति कृष्णदेव यादव र पर्सा जिल्ला सभापति अजय द्विवेदीले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
प्रदेश नम्बर ३ अन्तर्गत सिन्धुली जिल्ला सभापति उज्ज्वल बराल, काभ्रे जिल्ला सभापति मधु आचार्य, रामेछाप जिल्ला सभापति लवश्री न्यौपाने सिन्धुपाल्चोक जिल्ला अध्यक्ष विकाश लामा, नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह केसी, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, रसुवा जिल्ला सभापति पेम्बा छिरिङ लामा, धादिङ जिल्ला सभापति रमेश धमला र चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कास्की जिल्ला सभापति कृष्ण केसी, म्याग्दी जिल्ला सभापति खम्ब गर्बुजा, मुस्ताङ जिल्ला सभापति यंगजीङ बिष्ट, स्याङ्जा जिल्ला सभापति कुमार राणा, नवलपुर जिल्ला सभापति विष्णुप्रसाद लामिछाने, लमजुङ जिल्ला सभापति भेषबहादुर पौडेल र गोरखा जिल्ला सभापति हरिबहादुर घलेले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
प्रदेश नम्बर–५ अन्तरगत परासी जिल्ला सभापति अर्जुन पोखरेल पाल्पा जिल्ला सभापति वीरबहादुर राणा, गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ, अर्घाखाँची जिल्ला सभापति विष्णुप्रसाद खनाल, कपिलवस्तु जिल्ला सभापति सुरेन्द्रप्रसाद आचार्य, प्यूठान जिल्ला सभापति अम्मरप्रसाद भण्डारी, रोल्पा जिल्ला सभापति अमरसिंह पुन, पूर्व रुकुम जिल्ला सभापति केशरमान रोका, बाँके जिल्ला सभापति किरण कोइराला र बर्दिया जिल्ला सभापति सञ्जय गौतमले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
त्यसैगरी, कर्णाली प्रदेश अन्तरगत मुगु जिल्ला सभापति खड्गबहादुर शाही, जुम्ला जिल्ला सभापति दीपबहादुर शाही, कालिकोट जिल्ला सभापति हर्षबहादुर बम, दैलेख जिल्ला सभापति कृष्णकुमार बिसी, सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी, पश्चिम रुकुम प्रेमप्रकाश ओली, सल्यान जिल्ला सभापति गणेशबहादुर चन्द, जाजरकोट जिल्ला सभापति दीपकजंग शाही, हुम्ला जिल्ला सभापति जयपति रोकाया र डोल्पा जिल्ला सभापति अंगत बुढाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
सुदूरपश्चिम प्रदेशअन्तरगत डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल, दार्चुला जिल्ला सभापति ललितसिंह बोहरा, बैतडी जिल्ला सभापति नरेन्द्रसिंह थापा र बझाङ जिल्ला सभापति हर्कजङ्गबहादुर सिंहले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।