काठमाडाैं – नपढेकाको मात्रै हैन, अधिकांश पढे–लेखेकाको पनि एउटै सपना हुन्छ– विदेश जाने, पैसा कमाउने। उनीहरू सोच्छन् कि नेपालमा न रोजगारीका अवसर छन् न त केही गर्ने वातावरण नै छ।
त्यसैले त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयाैंको संख्यामा नेपाली नागरिक विदेशिइरहेका छन्। त्योभन्दा तेब्बर संख्यामा भारत वा गैरकानूनी रूपमा विदेशिनेको संख्या रहेको सरकारी तथा गैरसरकारी संघसंस्थाको तथ्यांकले देखाउने गरेको छ।
नेपालमा न रोजगारीका अवसर छन् न त केही गर्ने वातावरण नै छ भन्दै विदेशिनेका लागि गतिलो उदाहरण बनेका छन्– कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीका ३५ वर्षीय युवा उद्यमी लक्षिराम आचार्य।
आत्मबल र इच्छाशक्ति भएमा आफ्नै भूमिमा पनि केही गर्न सकिन्छ भनेर राजनीतिशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर व्यावसायिक केराखेतीमा लागेका आचार्य युवा पुस्ताका लागि गतिलो उदाहरण बनेका छन्।
सुदूरपश्चिम प्रदेशको राष्ट्रिय जनमोर्चाका सचिवसमेत रहेका आचार्यले व्यावसायिक केराखेतीसँगै राष्ट्रिय जनमोर्चा कैलालीको अध्यक्षको नेतृत्वसमेत सम्हालिरहेका छन्।
जन्म पहाड, कर्म तराई
कैलालीको तत्कालीन निगाली गाविस–७ (जुन कैलालीको पहाडी क्षेत्र हो)मा जन्मेका आचार्य हाल गौरीगंगा नगरपालिका–३ कुचैनीका स्थायी बासिन्दा हुन्। निगालीमै रहेको भगवती प्राथमिक विद्यालयबाट कक्षा ५ सम्मको पढाइ सकेपछि उनका परिवार गौरीगंगामा बसाइँ सरेको थियो।
उनको परिवारिक पृष्ठभूमि वामपन्थी राजनीतिमा सक्रिय थियो। उनका बुबा आराश्वर अझै पनि नेकपा (पहिले एमाले)मा आबद्ध भइरहँदा आचार्य भने २०५४ सालमै तत्कालीन माओवादीको विद्यार्थी सँगठन हुँदै हाल राष्ट्रिय जनमोर्चामा छन्।
हाल पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सचिव र कैलाली अध्यक्षको नेतृत्व गरिरहेका आचार्य राजनीति गर्दागर्दै व्यावसायिक रूपमा केराखेतीमा लागेका हुन्।
पढाइसँगै राजनीतिमा
निगालीबाट गौरीगंगा बसाइँ सरेपछि आचार्यले कक्षा ६ देखि ८ सम्म अमर माध्यमिक विद्यालय बनवेहडा र ९ देखि १० कक्षासम्म चौमाला माविमा पढेका थिए। पढाइमा अब्बल आचार्य कक्षा ७ मा पढ्दापढ्दै विसं २०५४ मा राजनीतिमा लागेका थिए।
गाउँनजिकैको वनवेहडा बजारमा कपाल काट्न गएका बेला आचार्यले तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्यता लिएका थिए। गाउँमै खोलिएको विद्यार्थी संगठनको संस्थापक सचिव हुँदै आचार्य अध्यक्ष बनेका हुन्।
उनले वादविवाद प्रतियोगिता, वतृत्वकला, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता लगायतका अतिरिक्त त्रियाकलाप पनि गराउँदै आएका थिए। आचार्यले नेतृत्व गरेको उक्त संगठनमा स्नातक तह पढदै गरेका पनि सदस्य थिए। पछि गएर उक्त संगठनको नाम विद्यार्थी कल्याण संगठन राखिएको छ।
क्रान्तिकारीबाट अखिलमा, विद्यार्थीबाट पार्टी नेतृत्वमा
पढाइ सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउँदै लैजाने क्रममा आचार्य अखिल क्रान्तिकारी छोडेर राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैटाैमा लाग्न पुगे। २०५८ मा धनगढीमा भएको अखिल छैटौँको १५औँ अधिवेशनबाट उनी जनमोर्चामा आबद्ध भएका थिए।
कैलाली बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्दा अखिल छैटौँको इकाइ सदस्य र उपाध्यक्ष बनेका आचार्य अर्को वर्ष जिल्ला सदस्य हुँदै २०६० वैशाखमा अध्यक्ष बने। २०६३ देखि ०६६ सम्म अखिल छैटौँको दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष बनेका उनी ०६६ सालमै वरिष्ठ उपाध्यक्ष भए।
विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनलाई पार्टीले कैलाली जिल्लाको नेतृत्वमा पठायो। सहसचिवको नेतृत्व सम्हाल्दै पार्टीको कैलाली जिल्ला कमिटीमा प्रवेश गरेका आचार्य सचिव हुँदै २०७१ देखि अध्यक्ष र सुदूरपश्चिम प्रदेश कमिटीका सचिव हुन्। अब चाँडै अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने तयारीमा उनी जुटेको बताउँछन्।
शिक्षकबाट राजीनामा, क्याम्पस प्रमुखको अफर अस्वीकार
सानैदेखि पढाइमा अब्बल आचार्य प्लस टू पढ्दै गर्दा पढाउन थालेका थिए। उनी आफ्नै गाउँ कुचैनीमै रहेको शिव नमुना निमाविमा पढाउन थाले। उनलाई निजी स्रोतबाट शिक्षकमा राखिएको थियो। पछि उनले पढाइ, राजनीति र जागिरका लागि समय मिलाउन नसकेपछि शिक्षक पेशाबाट राजीनामा दिए।
उनी भन्छन्, ‘म पढाइमा राम्रो भएका कारण प्लस टू पढ्दै गर्दा निजी स्रोतबाट शिक्षकमा राखिएको थियो। पछि समय नमिलेपछि मैले राजीनामा दिएँ। तर, मलाई उक्त स्कूलको प्रधानाध्यापक बनाउने भन्दै १ महिनासम्म राजीनामा स्वीकृत भएको थिएन।’
हाल नेपाल ल क्याम्पसमा कानून पढ्दै गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट २०६७ सालमा राजनीतिशास्त्र र ०७३ मा समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका छन्। अब राजनीतिशास्त्रमा विद्यावारिधि (पीएचडी) गर्ने सोचमा छन् उनी।
यसबीच उनलाई कालिकोटको एक क्याम्पसबाट क्याम्पस प्रमुख बन्न प्रस्ताव आएको थियो। तर, उनले राजनीतिसँगै केराखेतीमा लाग्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका छन्।
५७ पटक जेल गएँ
विद्यार्थी आन्दोलनदेखि हालसम्म ५७ पटक गिरफ्तार भएर जेल गएको उनलाई सम्झना छ। काठमाडौँदेखि धनगढीसम्मका जेलमा २ घण्टादेखि ३ दिनसम्म बसेको उनी बताउँछन्। राजाको शाही घोषणाविरुद्ध कैलालीमा आन्दोलन हुँदा उनले नेतृत्व गरेका थिए। त्यतिबेला कैलालीमा संयुक्त विद्यार्थी संगठनको संयोजक बनेका थिए उनी।
सो क्रममा उनीमाथि धेरै पटक कुटपिट भयो। सोही आन्दोलनका बेला सेनाको कुटाइबाट बेहोस भएका आचार्यको १ हप्तापछि भारतको विवेकानन्द अस्पतालमा होस आएको थियो।
‘सरकार, सेना र माओवादीबाट ५७ पटक धनगढीदेखि काठमाडौँको जेल गएको पार्टीको रेकर्डमा छ। सो अवधिमा २ घण्टादेखि ३ दिनसम्म जेल बसेको छु,’ उनले भने, ‘खै अझै कति जेल जानुपर्ने हो थाहा छैन। अब त सुदूरपश्चिममा कुनै पनि जेल जान बाँकी छैन।’
एमाले नभएपछि...
पहिला तत्कालीन एमालेका कट्टर नेताका रूपमा चिनिने आचार्यका बुवा हाल पनि नेकपामै छन्। जनमोर्चामा लागेको भन्दै आचार्यलाई उनका बुवाले एसएलसीपछि पढ्नका लागि सहयोग गरेनन्।
आचार्य भन्छन्, ‘एमाले नभएका कारण बुवाले मलाई पढाएनन्। भारतको सीमावर्ती बजार गौरीफन्टाबाट खुद्रा सामान ल्याएर धनगढीमा बेच्थँे। त्यही पैसाले पढ्न र खानाबस्न खर्च जुटाउँथेँ।’
घरबाट सहयोग नपाए पनि आफैँले मेहनत गरेर प्लस टूदेखि मास्टरसम्म अध्ययन गरेको उनी बताउँछन्। आचार्य पत्रकार तथा साहित्यसँग सम्बन्धित विभिन्न संघसस्थामा पनि आबद्ध छन्।
प्रगतिशील विवाह: भौतिकवादमा विश्वास, पत्रिकामा विज्ञापन
भौतिकवादमा विश्वास राख्ने आचार्यले २०६० सालमा डडेल्धुराकी गोमा जोशीसँग प्रगतिशील विवाह गरेका थिए।
सार्वजनिक कार्यक्रममा विवाह गरेका आचार्यको प्रगतिशील विवाहमा तत्कालीन नेकपा एकताकेन्द्र मसालका प्रवक्ता, पूर्वउपप्रधानमन्त्री तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपस्थिति थियो। कुनै भोजभतेर नगरी विवाह गरेका आचार्यले निम्तो भने पत्रिकामा विज्ञापन गरेरै दिएका थिए।
जीवन र जगतलाई बुझ्ने जीवनशैली अपनाएको बताउने आचार्य भन्छन्, ‘हामी जे देख्छौ त्यही मात्रै सत्य हो। अदृश्य शक्तिप्रति विश्वास नगरेर प्रगतिशील विवाह गरेको हुँ।’ उनले हालसम्म जनै लगाएका छैनन् भने छोराछोरीको न्वारनसमेत गरेका छैनन्।
२०६३ सालमा जन्मिएको छोराको नाम युगान्त (द्वन्द्वकाल अन्त्य नयाँ युग शुरु हुन लागेको) र ६८ सालमा जन्मिएकी छोरीको नाम युगीन राखेका छन्।
प्रमाणपत्रसँगै केराबारीमा रमाउँदै
व्यावसायिक रूपमा केराखेतीमा लागेका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।
कक्षा १० सम्म गाउँकै स्कूलमा पढेका आचार्यले कैलाली बहुमुखी क्याम्पसबाट नेपाली साहित्यमा स्नातक र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाबाट शिक्षामा स्नातकसमेत गरेका छन्।
तिनै शैक्षिक प्रमाणपत्र बोकेर आचार्य केराखेतीमा रमाइरहेका छन्। उनले विगत ६ वर्षदेखि कैलालीकै गोदावरी नगरपालिका–६ स्थित बडेहामा व्यावसायिक रूपमा १२ विगाह जग्गामा केरा खेती गरिरहेका छन्।
स्थानीय युवा सुरेन्द्र चौधरी र नारदप्रसाद पन्तलाई सँगै मिलाएर शुरु गरिएको फर्मको नाम एसीपी (आचार्य, चौधरी र पन्त) मल्टी एग्रो नर्सरी उद्योग राखिएको छ।
उद्योगमा काम गर्नका लागि १५ जनाभन्दा बढी युवालाई राखिएको छ। तर, उनी पनि ती कामदार युवासँगै काममा व्यस्त हुन्छन र केराबारीमा रमाइरहेका छन्।
‘केराबारीमा काम गर्नका लागि १५ जना युवालाई राखेको छु। तर पनि समय मिल्यो भने उनीहरूसँगै केराबारीमा आफैँले काम गरेर रमाउन मन लाग्छ,’ आचार्यले भने।
राजनीतिसँगै केरा व्यवसायमा किन?
६ वर्षदेखि व्यावसायिक रूपमा केराखेतीमा लागेका आचार्य वार्षिक ७० लाख रुपैयाँसम्मको कारोबार गर्छन्। त्यसबाट ८–१० लाख रुपैयाँ फाइदा हुने उनी बताउँछन्। जीवन परिवर्तन गर्न राजनीतिसँगै व्यावसायिक रूपमा केराखेतीमा लागेको आचार्य बताउँछन्।
उनले भने, ‘हाल म ३५ वर्षको भएँ। श्रीमती छ, छोराछोरी छन्, उनीहरूलाई पढाउन पर्यो। घर खर्च चलाउन प¥यो। राजनीति गरेर बाँच्न गाह्रो भएपछि केराखेती थालेको हुँ।’
हिजोआज राजनीतिलाई कमाइखाने भाँडो बनाइएको छ। उनीहरू राजनीतिमा लागेर भ्रष्टाचार गर्छन् अनि जीवन चलाउँछन्, आचार्य बताउँछन्।
उनी भन्छन्, ‘राजनीति भनेको बेतलबी समाजसेवा हो। त्यसैले जीवन निर्वाह गर्न म कृषिमा लागेको देखेर अरू युवा पनि स्वदेशमा नै केही गरून् र आफूसँगै देशलाई पनि आत्मनिर्भर बनाउन सहयोग गरून् भनेर कृषिमा लागेँ।’
राजनीतिलाई कमाइखाने भाँडो नबनाई शुद्ध समाजसेवा बनाउनुपर्नेमा उनको जोड छ। युवालाई स्वदेशमै लगानी गर्ने वातावरण सरकारले अझै बनाउन नसकेको उनको गुनासो छ। सरकारले नीतिगत र व्यावहारिक रूपमै स्वदेशमा केही गर्न चाहनेलाई ढाँटिरहेको उनी बताउँछन्।
संघर्ष गरी स्वदेशमै मेहनत गरे राम्रो कमाइ हुने बताउँदै आचार्य भन्छन्, ‘स्वदेशमै मेहनत गरौँ, पसिना बगाऔँ र आफूसँगै देशलाई पनि आत्मनिर्भर बनाउन सहयोग गरौँ।’
केरा आन्दोलनको नेतृत्वकर्ता
४–५ वर्ष अघिसम्म कैलाली कञ्चनपुरमा न्यून मात्रामा मात्रै केरा खेती गरिन्थ्यो र उत्पादन हुन्थ्यो। तर, पछिल्लो २–३ वर्षयता भने कैलाली कञ्चनपुरमा व्यावसायिक रूपमै केराखेतीमा संलग्न किसानको संख्या बढ्दो छ। तर, यहाँका किसान भने सधैँ भारतीय व्यापारीको मारमा परिरहे।
भारतबाट नेपालमा विनाचेकजाँच भारतीय केरा आयात हुने गरेका थिए। नेपालमा केरा उत्पादन भएका बेला भारतीय केरा व्यापारीले मूल्य घटाउने र नेपालमा केरा उत्पादन नभएका बेला मूल्य बढाउने गर्दथे, जसका कारण नेपाली केरा व्यावसायी मारमा परेका थिए।
आचार्यले विनाचेकजाँच नेपाल आउने भारतीय केरामा रोक लगाउनुपर्ने माग गर्दै आन्दोलन थाले। शुरुमा कैलाली कञ्चनपुरका केरा किसानलाई भेला गर्दै आन्दोलन थालेका उनले विस्तारै कञ्चनपुरदेखि झापासम्मका केरा किसानलाई एकै थलोमा जम्मा गरे।
भारतबाट आयात हुने केरा रोक्न माग गर्दै स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मलाई ज्ञापनपत्र बुझाइनुदेखि भन्सार र सडकमा केरा बिच्छ्याउनेसम्मका कार्यक्रमको नेतृत्व उनले गरे।
अन्ततः उनले थालेको केरा आन्दोलनले सफलता पाएको छ। भारतबाट केरा नेपाल आयात गर्दा क्यारेन्टाइनमा चेकजाँच गर्नुपर्ने नियम लगाइएको छ।
दुई विषयको प्रमाणपत्र बोकेर केराखेतीमा रमाइरहेका राजनीतिज्ञ आचार्य आगामी दिनमा पनि राजनीति र केरा व्यवसायलाई सँगसँगै लैजाने बताउँछन्।