धनिकलाल मण्डल
बारा। मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा बारास्थित निजगढ पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको मुक्ति र परिवर्तनका लागि युद्ध गरेका पूर्व लडाकुलाई आफ्नो नेता तथा कमान्डरलाई कसरी अर्बपति हुनुभयो ? भनेर सोध्न आग्रह गरेका छन्।
बाराको निजगढमा आयोजित आमसभामा बोल्दै अध्यक्ष थापाले सशस्त्र संघर्षमा लागेका युवाको अवस्था दयनिय हुनु तर त्यहि पार्टीका नेताहरु अर्बपति बनेको भन्दै पूर्व लडाकुलाई आफ्ना नेताहरुसँग प्रश्न सोध्न आग्रह गरेका हुन्। अध्यक्ष थापाले मुलुकमा भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले भने,‘भ्रष्टचारीलाई कारबाही गर्न र आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरकार असक्षम देखिएको छ।’
राप्रपाका नेता बुद्धिमान तामाङले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने धारणा राखेका थिए। उनले भने,‘नेपाल हिन्दुराष्ट्र भएमात्रै यहाँ सनातन धर्मको रक्षा हुन्छ।’ राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देनले आरक्षणको व्यवस्था अधुरो भएको बताउँदै जातभन्दा पनि आर्थिक विपन्नका आधारमा आरक्षण गरिनु पर्ने बताए।
पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको छैठौं दिन सोमबार सर्लाहीको हरिपुर, नवलपुर, हरिवन, सुकेपोखरी, रौतहटको बागमती, चन्द्रनिगाहपुर, बाराको निजगढ, पथलैया र अमलेखगञ्जमा भएको सभालाई राप्रपा अध्यक्षलगायतका नेताहरुले सम्बोधन गरेका थिए। राप्रपाले सरकारसँग हिन्दु राष्ट्र पुनःस्थापना, राजसंस्थाबारे गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्यलगायतका २२ बुँदे ज्ञापनपत्र बुझाउँदै मेची-काली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गरेको हो।