झापा । जिल्लाको काँकडभिट्टामा आयोजित कला साहित्य उत्सवको आज अन्तिम दिन पत्रकारिता, राजनीति र लैङगिक सवालमा बहस गरिएको छ।
पत्रकारिताका विकृतिका बारेमा पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवम् खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले खुला रुपले चिरफार गरेका थिए। गाउँलेसँग सुविना श्रेष्ठ र सङ्गीत स्रोता बहसमा सहभागी रहेका थिए।
सहजकर्ता नारायण कँडरियाले झुठा समाचार र खरीद समाचारले नेपाली पत्रकारितामा पारेको प्रभाव बारेमा राखेको प्रश्नको उत्तर दिँदै पत्रकार गाउँलेले ‘फेक न्यूज र पेड न्यूज’को शृङ्खलामा एकजना मात्र दोषी नरहेको बताए।
उनले ‘समाचारमा धेरैको स्वार्थ रहेको हुँदा फेक र पेड न्यूज सञ्चारमाध्यममा बढी हाबी हुने गरेको बताए। विश्व पौडेल र खगेन्द्र प्रसाईले ‘समृद्धि यात्राका सङ्ट’ विषयमा, सञ्जीव उप्रेती, भाष्कर गौतम र अमिना सिंहले ‘समाज विज्ञान र मानविकी सङ्ट’ विषयमा चर्को बहस गरेका थिए।
त्यसैगरी खगेन्द्र सङ्ग्रौला र सिके लालले अभिव्यक्ति स्वतन्त्रताका बारेमा बहस गरेका थिए। शनिबारदेखि शुरु भएको कला साहित्य उत्सव आज सकिएको छ। प्रत्येक दुई वर्षको अन्तरालमा रिडर्सको आयोजनामा कला साहित्य उत्सव हुने गरेको छ। कार्यक्रममा काठमाडौँ, पोखरा, विराटनगर र छिमेकी मुलुक भारतका साहित्यकारको जमघट रहेको थियो।
उत्सवमा विचार विमर्शदेखि विभिन्न कवितावाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बीर प्रदर्शनीसमेत गरिएको थियो । रासस