जनकपुर। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छिट्टै पार्टी महाधिवेशन गराउने पक्षमा आफू रहेकाले महाधिवेशन नचाहनेले आफु विरुद्ध षडयन्त्र गरी बदनाम गराउने प्रयास गरेको आरोप लगाएका छन्।
उनका पूर्वस्वकीय सचिव रवीन्द्रकुमार चौधरी (राजेश)ले तलब नदिएको बहानामा विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेको षडयन्त्र भएको बताए।
प्रेस मञ्च नेपालले साेमबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘म विरूद्ध भई रहेको षडयन्त्रलाई हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन, अहिले म आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमा पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानो तिनो कुरामा आरोप प्रत्यारोप लगाएकामा मेरो कुनै चासो छैन।’
राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टीभित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउँदै महतोले महाधिवेशनसम्म यस्ता स-साना कुरामा आफू न अल्झिने प्रतिक्रिया दिए।
महतोका स्वकीय सचिव चौधरीले आफ्नो फेसबुकमार्फत तलब नदिएको, झूठो हस्ताक्षर गरेर तलबको रकम हिनामिना गरेको जस्ता आरोप लगाएका थिए।