काठमाडौँ - मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाे छ। नेपाल आयल निगमले ग्यास पर्याप्त मात्रामा आयात भइरहेकाले अनावश्यक भण्डारण तथा हल्लाका पछाडि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ।
पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास विक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो।
इन्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तर रूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको छ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग ८ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात (पीडीओ) रहेको छ। उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित भइरहेको छ। सन् २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार ७ सय ५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ।
निगमले उपभोक्तालाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाह पछाडि नलाग्नसमेत आग्रह गरेको छ। उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनै पनि समस्या नभएकाले अनावश्यक रूपमा ग्यासको सिलिन्डर भण्डारण नगर्नसमेत निगमले अनुरोध गरेको छ।
निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ।
दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकाे निगमले जनाएकाे छ। (रासस)