काठमाडौँ–पशुपतिनाथ मन्दिरमा अझै दर्शनार्थीको घुइँचो छ। महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।
कोषले मन्दिर दर्शन र पूजाका लागि सहज व्यवस्था मिलाएको दाबी गरे पनि हजाराैँ भक्तजनहरू मन्दिर प्रवेश गर्न नपाइ फर्केका छन्। यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ। दर्शनार्थीहरुले चावहिल चोकबाट लाम बसेर मूल मन्दिरमा पुगेर पुजा गरिरहेका छन्।
मन्दिर परिसरमा कोष र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी श्रीमती सङ्घलगायत संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, चिया, पानी वितरण गरिरहेका छन्।
आज रातिसम्म ११ लाख बढी दर्शनार्थीले मूल मन्दिर प्रवेश गरी दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ। बाहिरबाट मित्रपार्क, जयवागेश्वरी र पिङ्गलास्थान गरी तीन एवं भित्र पुगेपछि पाँचवटा लाम राखिएको छ।




तस्विरहरूः मुकुन्द कालिकोटे।