वीरगञ्ज - वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ शुरु भएको छ। ४ दिनसम्म चल्ने महायज्ञको आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन तय भएकोमा अन्तिम समयमा राष्ट्रपतिको आगमन स्थगित भएपछि अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्डेयले द्वीप प्रज्ज्वलन गरी महायज्ञको उद्घाटन गरेका हुन्।
वीरगंजस्थित आर्दशनगरमा शुरु भएकाे महायज्ञका मुल आयोजक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले उद्घाटन समारोहमा राष्ट्रपति विद्या भण्डारीले पठाएको सुचना पढेर जानकारी दिएका थिए।
सन्देशमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रलाई अजय शक्ति प्रदान गर्ने महायज्ञकाे लक्ष्य हुनुपर्ने बताएकी छन्। उनले महायज्ञहरू पञ्चतत्त्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्न भूमिका निर्वाह गर्ने दिशामा लक्षित हुनुपर्ने बताएकी हुन्।
राष्ट्रपतिले सन्देशमा महायज्ञले नेपालका तीर्थस्थल, पर्यटकीयस्थल, अप्रकाशित महिमा र सांस्कृतिक ज्ञान राशिलाई विश्वसामु परिचित गराउन भूमिका निर्वाह गर्ने विश्वास गर्दै यसले जीवनमूल्य र आध्यात्मिक अनुशासनप्रति जनविश्वास अभिवृद्धि हुने वातावरण तयार गर्दै राष्ट्रलाई अजय शक्ति प्रदान गर्ने उल्लेख छ।
आयोजक मूल समितिका संयोजक डा. उपेन्द्र महतोले सो शुभकामना सन्देश सुनाएका थिए। सर्वकल्याणको प्रादुर्भाव भएको सनातन धर्म विज्ञानको उद्गमभूमि नेपालको औद्योगिक र व्यापारिक नगरी वीरगञ्जमा गायत्री अश्वमेध महायज्ञको आयोजना भएकामा राष्ट्रपतिले खुशी व्यक्त गरेकी हुन्।
नेपाली भूमिमा पहिलो पटक भएको चारदिने गायत्री अश्वमेध महायज्ञको अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्डया र सोही परिवारका प्रमुख शैलबाबा पाण्डयाले दीप प्रज्ज्वलन तथा गायत्री मन्त्र उच्चारण गर्दै नेपाल र नेपालीको खुशी, प्रगति र समृद्धिको कामना गरेका थिए।
सो अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले गायत्री महायज्ञबारे प्रकाश पारेका थिए। महायज्ञमा नेपाललगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरात र अन्य देश गरी ४० मुलुकका श्रद्धालुको सहभागिता रहेकाे छ।
यसअघि महिला सहभागी रहेको कलशयात्रा नगर परिक्रमा गरी यज्ञस्थल आदर्शनगर पुगेको थियो।

