काठमाडौं – सुदूरपश्चिमको विकट पहाडी जिल्ला हो– अछाम। अछामकै पनि विकट रामारोशन। जहाँ यातायात पुगेको १–२ वर्ष मात्रै भयो। सडक, सञ्चार, यातायात, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रबाट अझै पनि पछाडि छ रामारोशन।
त्यसैका कारण तत्कालीन माओवादीले थालेको सशस्त्र द्वन्द्व (२०५२–६२)का क्रममा रामारोशन माओवादीको गढ बन्न पुग्यो।
माओवादीले उर्दी नै जारी गरी प्रत्येक घरबाट एक जनालाई माओवादीमा लिने गरेको थियो। उनीहरूले भनेको अस्वीकार गरेको खण्डमा जबर्जस्ती लगेर यातना मात्रै हैन, बेपत्ता र हत्यासमेत गर्थे।
सोही द्वन्द्वमा दुःखकष्ट भोगेर तत्कालीन माओवादी किल्लाबाट जन्मिएका हुन्, कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेता चन्द्र विक। विक नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन्।
सहज थिएन शुरुआत
विसं २०४८ जेठमा रामारोशन गाउँपालिका–४ बाटुलासैनमा जन्मिएका विकको घरपरिवारको आर्थिक अवस्था सामान्य नै थियो। उनले गाउँकै नन्दाकाली प्राथमिक विद्यालयबाट पढाइ थालेका थिए। पढ्दापढ्दै राजनीति गर्न थालेका विक कक्षा ७ मै नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ)का इकाइ सचिव बने।
२०४८ सालको चुनावमा आमा मनसरा विक काँग्रेसको तर्फबाट वडा सदस्य र २०५१ सालको चुनावमा दाइ कुलबहादुर विश्वकर्मा काँग्रेसको तर्फबाट वडा अध्यक्ष निर्वाचित भइसकेका कारण उनलाई राजनीतिप्रति लगाव बढेको थियो। त्यसैले आमा र दाइ पनि राजनीति गर्दै आएका, बेलाबेलामा घरमा आइरहने जिल्लास्तरीय नेताका कारण उनलाई पनि राजनीतिमा लाग्ने हौसला र प्रेरणा मिलेको थियो। त्यसैका कारण उनले राजनीति गर्ने निधो गरिसकेका थिए।
तर, उनी कक्षा ७ मा इकाइ सचिव हुँदा मुलुकमा माओवादी द्वन्द्व चलिरहेको थियो। गाउँमा बसेर राजनीति गर्न सक्ने अवस्था थिएन। माओवादीको गण भएका कारण रामारोशनमा एक घरबाट एक जनाले माओवादीमा जानैपर्ने थियो। नजानेलाई माओवादीले अनेक दुःख दिने, जबर्जस्ती माओवादीमा लैजाने, कुटपिट गर्ने, बेपत्ता पारिदिने गर्थे।
त्यही डरले विक कैलालीको लम्कीमा रहेका दाजु–भाउजूको घरमा आए। २०५८ सालमा ८ कक्षाको पढाइ सकेर लम्की झरेका विक त्यहाँ पनि माओवादीका कारण बस्न नसकेर भारतमा लुकेर बस्न बाध्य भएका थिए।
ती दिन सम्झँदै विक भन्छन्, ‘तत्कालीन माओवादीको किल्लामा नेविसंघमा रहेर राजनीति गर्ने अवस्था थिएन। त्यसैले म कैलाली आएँ। त्यहाँ पनि माओवादीले आफ्नो पार्टीमा लिनका लागि सोधखोज गर्न थालेपछि ३ वर्ष भारतमा लुकेर बसेँ।’
केन्द्रीय राजनीतिमा प्रवेश
९ कक्षा पढ्दापढ्दै माओवादी द्वन्द्वका कारण ३ वर्ष पढ्न नपाएका विकले द्वन्द्व सकिएपछि अछामको सरस्वती माध्यमिक विद्यालय बाटुलासैनबाट एसएलसी (हाल एसईई)उत्तीर्ण गरेका थिए। एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि उनी काठमाडौँ आए। गाउँमा सीमित राजनीतिक यात्राबाट उनले केन्द्रीय राजनीतिमा प्रवेश गर्ने अवसर पाए। त्यसका लागि उनी अनवरत् रूपमा लागिपरे।
काठमाडौँको छाउनीस्थित काठमाडौँ भ्यालीमा व्यवस्थापन संकायमा प्लस टु पढ्न थालेका विकले अर्थशास्त्र विषयमा काठमाडौँकै रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)बाट स्नातक गरेका छन्।
हाल कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर पढ्दै गरेका विक प्लस टुमा पढ्दा मेची–महाकाली विद्यार्थी उत्थान मञ्चको सर्वसम्मत अध्यक्ष भएका थिए भने आरआर क्याम्पसमा नेविसंघ इकाइ सदस्य हुँदै सहसचिव बनेका थिए। नेपाल दलित विद्यार्थी संघको केन्द्रीय महासचिव भइसकेका विक संगठन विस्तार र नेता तथा कार्यकर्ता भेटघाटका लागि अधिकांश जिल्ला पुगिसकेका छन्।
आन्दोलनको अग्रपंक्तिमा
हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारलगायत विरुद्धका आन्दोलनमा नेविसंघ नेता विक अग्रपंक्तिमा देखिन्छन्। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै गरिएको आन्दोलन, चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी अनशन बसेका बेला गरिएको आन्दोलनदेखि वाइडबडी भ्रष्टाचार विरुद्धको आन्दोलनमा उनी अग्रपंक्तिमा हुन्थे।
पार्टी मात्रै हैन, हत्या, हिंसा लगायत विरुद्धका नागरिक समाज लगायतले गर्ने आन्दोलनमा पनि उनी सहभागी हुन्छन्। वाइडबडी र निर्मला हत्या प्रकरणमा गरिएको आन्दोलनका क्रममा संसद् भवनको एक नम्बर गेटमा कालोझण्डा देखाएका कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसक्रममा उनी घाइतेसमेत भए।
२२औँ महाधिवेशनमा उम्मेदवार बन्ने चाहना
यसअघि भएको नेपाल विद्यार्थी संघको २१औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका विक २२औँ महाधिवेशन चाँडो गर्नुपर्ने पक्षमा छन्। त्यसका लागि पार्टीका शीर्ष नेताहरूलाई नेविसंघमा रहेको विवाद अन्त्य गर्न उनले आग्रह गरिरहेका छन्।
अब हुने नेविसंघको महाधिवेशनमा कुन पदमा उम्मेदवार बन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म सबै पदका लागि सशक्त उम्मेदवार हुँ। मलाई यो पद नै चाहिन्छ भन्ने छैन। संगठनमा मैले निर्वाह गरेको भूमिकाको नेतृत्वले उचित मूल्याङ्कन गर्नेछ भन्नेमा म विश्वस्त छु।’
११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका विक १२ औँ महाधिवेशनमा नेविसंघको नेतृत्वमा आउने चाहना रहेको बताउँछन्।
हेर्नुहोस् अन्तरवार्ताः
https://www.youtube.com/watch?v=edlE2mj6u1g&t=17s