जनकपुरधाम - नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए। उनले १ वर्षको अवधिमा सरकारले कुनै पनि महत्त्वपूर्ण काम गर्न नसकेको बताउँदै कार्यमुखीभन्दा प्रचारमुखी भयाे सरकार भनेका हुन्।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज (आइतबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको बताउँदै उनले सरकार सङ्घीयतालाई समेत कमजोर बनाउने क्रियाकलापमा लागिरहेको धारणा राखे।
सभापति देउवाले भने, ‘सरकारले प्रेसलाई नियन्त्रण गर्न खोजिरहेकाले हामी प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित हुन दिनाैँ।’ उनले प्रजातन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको अवस्थामा अनलाइन, फेसबुक, ट्विटरलगायत सूचनाको हक, लेख, वाक् स्वतन्त्रता हनन गर्न खोज्ने सरकारको क्रियाकलाप सह्य नहुनै बताए।
एक प्रश्नको जवाफमा उनले भने, ‘वाइडबडी प्रकरणको वास्तविकता आउनुपर्दछ।’ सभापति देउवाले सीताको जन्मभूमि, गौरवमय इतिहास, मिथिला, मैथिली सभ्यता र संस्कृति, ज्ञान, बौद्धिकताको उद्गमस्थल जनकपुृरधामलाई नै प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने धारणा राखे।
उनले भने, ‘मैथिली भाषा उत्कृष्ट, विकसित र समृद्ध भएकाले प्रदेश २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा गर्नुपर्दछ।’ सभापति देउवाले नेपाल विद्यार्थी सङ्घको अधिवेशन छिट्टै हुने एक प्रसङ्गमा बताए।