काठमाडौं – पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारीको शनिबार ८२ वर्षको उमेरमा निधन भएको छ। तीन सातादेखि काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचाररत अधिकारीको निधन भएको अस्पतालले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको हो।
वि.सं. १९९३ २२ वैशाखमा बुवा रामचन्द्र अधिकारी आमा पूर्णकुमारी अधिकारीका सुपुत्रका रुपमा महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मिएका हुन् अधिकारी। अर्थमन्त्रीसहित चार पटक मन्त्रीको जिम्मेवारीमा पुगेका अधिकारीले सुरु गरेका जेष्ठ नागरिकहरुलाई बृद्धभत्ता प्रदान गर्ने तथा गाउँ–गाउँमा सहकारी घर–घरमा रोजगारी कार्यक्रम अहिले पनि लोकप्रिय छन्।
मोरङको विराटनगरस्थित आदर्श माविमा प्रारम्भिक शिक्षा लिएका नेकपा नेता अधिकारीले अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह उत्तीर्ण गरेका छन्।
राजनीतिक जीवन
वि.सं. २०४६ को पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय नेता भरतमोहन अधिकारीले वाम मोर्चा गठनमा पनि विशेष योगदान पुर्याएका छन्।
कम्युनिष्ट पार्टीको छैठौ, सातौ र आठौ महाधिवेशनबाट अधिकारी स्थायी समितिमा निर्वाचित भएका थिए। चार वर्ष भूमिगत जीवन बिताएका अधिकारीले तीन वर्ष निर्वासन र तीन वर्ष जेलजीवन भोगेका थिए।
२०७१ को महाधिवेशनबाट स्वैच्छिक अवकाश लिँदै पार्टीको कुनैपनि जिम्मेवारी नलिने घोषणा गरे। उनले अर्थ, कानून, उर्जा, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका थिए। उनको नेपालमा औद्योगीकरणको समस्या, मेरो जीवन यात्रा भाग–२ प्रकाशित छन्।
सविधानसभामा समानुपातिकतर्फ सभासद रहेका अधिकारीकी श्रीमती ओमकुमारी अधिकारी र तीन सन्तति रहेका छन्।