पोखरा। हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको राजकीय सम्मानका साथ गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ।
आजै काठमाडौँबाट पोखरा लगिएको अधिकारीको शवलाई रामघाटमा श्रीमती विद्या तथा छोराहरु विराज र स्वराजले दागबत्ती दिएका थिए। यसअघि पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि सभापछि रामघाटसम्म गरिएको शवयात्रामा सयौँ सर्वसाधारण सहभागी भएका थिए। उनको काजकिरिया पोखराको मालेपाटनस्थित घरमा गरिने पारिवारिक श्रोतले जनाएको छ।
ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।
यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको भने आइतबार बौद्ध विधिअनुसार टेकुघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
यसअघि बिहान दिवङ्गत सातै जनाको शव काठमाडौँको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो। श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्च पदस्थ सरकारी अधिकारी सहभागी भएका थिए।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो।