काठमाडौँ–प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभा र राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ।
प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई दुबै सभाले सर्वसम्मतिले पारित गरेको हो।
प्रस्तावमा भनिएको छ–ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पर्ने सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा फागुन १५ गते बुधबारका दिन असामयिक निधन भएकामा प्रतिनिधिसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ।
बैठकले अधिकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। बैठकमा स्व अधिकारीको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।
अधिकारी वि.सं २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए।
उक्त हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते शनिबार दिनको १ बजे बस्नेछ।