काठमाडौँ - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन स्रोतलाई राष्ट्रिय समृद्धिमा प्रयोग गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन्। उनले ‘आठौँ नेपाल हर्ब्स एक्स्पो–२०१९’ को कार्यक्रममा वन स्रोतलाई समृद्धिमा प्रयोग गर्ने बताए।
आज (शुक्रबार)देखि यहाँ शुरु भएको ‘आठौँ नेपाल हर्ब्स एक्स्पो–२०१९’ को उद्घाटन कार्यक्रममा उनले वन क्षेत्रको पूर्ण क्षमतामा बहुउपयोग गर्न मन्त्रालयले आवश्यक कानून र नीतिलाई समयसापेक्ष परिमार्जन गर्न लागेको जानकारी गराए।
मन्त्रालयले मुलुकभर जडीबुटी प्रजाति पहिचान गरी यसकाे व्यवसायलाई प्रोत्साहन गर्न नीतिगत र संरचनागत काम गरिरहेको मन्त्री बस्नेतको भनाइ थियो।
नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घको आयोजनामा गुणस्तरीय जडीबुटीको दिगो रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले शुरु भएको जडीबुटी मेला आइतबारसम्म चल्नेछ। काठमाडौँस्थित ठमेलको छायाँ सेन्टरमा आयोजित मेलामा जडीबुटीको जानकारी दिने ५० वटा कक्ष राखिएको छ।
सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालमा उत्पादन हुने स्वदेशी कच्चा पदार्थ जडीबुटी र त्यसबाट निर्मित वस्तु प्रदर्शनीमा राखिएको जानकारी गराए। साथै, उनले जडीबुटी व्यवसायमा भोग्नुपरेको चुनौतीबारे जानकारी दिए। चुनाैती समाधानका लागि मन्त्रालयको ध्यानाकर्षण गराइएको थियो।
‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजित मेलामा आयोजकले सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तर्क्रियासमेत गरिने जनाएको छ।