उर्लाबारी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र बनाउने बताएका छन्। उनले मोरङको उर्लाबारीमा आज (शुक्रबार) हिन्दू राष्ट्रकाे स्थापना सडक आन्दोलनबाटै गरिने बताएका हुन्।
पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले भने, “संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ।”
उनले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको उल्लेख गरे। फागुन मसान्तभित्र आफ्नाे माग पूरा नभए चैतदेखि देशव्यापी सङ्घर्षमा उत्रने थापाले चेतावनी दिए।
उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न पनि माग गरे।
बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज मोरङको उर्लाबारीबाट रतुवामाई, रङ्गेली हुँदै विराटनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेकाे बताइएकाे छ।