महेन्द्रनगर - पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे घर पुगेका छन्। पार्टी कार्यक्रमका लागि कञ्चनपुर पुगेका देउवा निर्मलाको हत्या भएको ७ महिनापछि उनका परिवारलाई भेट्न निर्मलाकाे घर पुगेका हुन्।
देउवाले पीडित परिवारसँगको भेटमा हत्यारा चाँडै पत्ता लाग्ने आश्वासन दिए। हत्यारा पत्ता लगाउन सरकारलाई आफ्नो पार्टीले सडक र सदनबाट दबाब दिइरहेको भन्दै देउवाले चाँडै नै दोषी पत्ता लाग्ने दाबी गरे।
निर्मलाकी आमा दुर्गादेवी पन्तले महिनौँ बितिसक्दा समेत सरकारी पक्षबाट आश्वासन मात्रै आउने तर दोषी पत्ता नलाग्ने भन्दै सभापति देउवालाई गुनासो पोखेकी थिइन्।
पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा प्रेस युनियन कञ्चनपुरको ५औँ जिल्ला अधिवशन तथा उद्योग वाण्ज्यि संघ कञ्चनपुरको आयोजनामा आयोजना हुने १२औँ सुदूरपश्चिमस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७५ को उद्घाटनका लागि कञ्चनपुर पुगेका हुन्।
देउवासहित नेपाली कांग्रेसका नेता एनपी साउद, जिल्ला पार्टी सभापति हरि बोहरा लगायतका नेताले पीडित परिवारलाई भेटेका छन्।