पोखरा – गण्डकी प्रदेशका सांसद तथा युुवा नेता राजिव पहारी र दिवङ्गत संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीबीच वि.सं. २०४३ मा चिनजान भयो। त्यतिबेला राजिव १० वर्षका थिए। पञ्चायतलाई अपग्रेड गर्न तत्कालीन नेकपा मालेले जनपक्षीय उम्मेदवार उठाउने निर्णय गर्यो।
सोमनाथ अधिकारीले कास्कीबाट निवार्चनमा उम्मेदवारी दिएका थिए। रबिन्द्र अधिकारी जनपक्षीय उम्मेदवारलाई जिताउन लागि पर्ने कुशल अभियन्ता थिए। उनको घर तत्कालीन नेकपा मालेको अघोषित कार्यालयजस्तै थियो। चुनावी, भेला, सभा, गोष्ठीहरुमा उनीहरुको भेटघाट भइरहन्थ्यो।
अधिकारीको वाकपटुता, नेतृत्व क्षमताबाट राजिव १० वर्षे कलिलो उमेरदेखि नै प्रभावित भइसकेका थिए। रबिन्द्र अधिकारीले नै उनलाई अनेरास्ववियुमा सामेल गराए। वि.सं. २०४६ मा मन्त्री अधिकारीको नेतृत्वमा सानै उमेरको भएपनि उनी आन्दोलनमा होमिए। विभिन्न कमिटीहरुमा रबिन्द्रकै नेतृत्वमा काम गरे। राजतन्त्र विरोधी काम गरेको भन्दै रबिन्द्र अधिकारीसँगै २ महिना जेल जीवन पनि भोगे। उनीहरुसँगै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र श्रीनाथ बराल पनि जेलमा थिए। जेलमा उनीहरु बोलचाल समेत गर्न पाउँदैनथे। एकदमै कष्टकर जीवन झेले।
दुई निर्वाचनमा रबिन्द्र अधिकारीलाई जिताउन पनि लागि परे। तेस्रो निर्वाचनमा क्षेत्र फरक परेको हुनाले साथ दिन पाएनन्। मन्त्री अधिकारीको निधनले आफ्नो अभिभावक नै गुमाएको जस्तै पीडा भएको छ राजिवलाई। रबिन्द्र अधिकारीको सबैभन्दा राम्रो पक्ष भनेको हरेक कुरालाई सकारात्मक ढङ्गले लिने लाग्छ उनलाई।
‘कुनै जिम्मेवारी पाएपछि परिणाममुखी बनाएर छाड्ने, गुट–उपगुटमा कहिल्यै नलाग्ने उहाँको स्वभाव थियो,’ रबिन्द्र अधिकारीलाई सम्झिँदै पहारीले भने, ‘युवा पुस्तालाई धेरै विश्वास गर्ने। युवा पुस्ताले केही गर्नुपर्छ भन्ने धारणा राख्ने नेता गुमाउनु पर्यो, यो नेपाली कम्युनिष्ट आन्दोलनका लागि अपुरणीय क्षति हो।’
पछिल्लो समय नेता अधिकारीले फेवाताल संरक्षणमा लागि पर्न हौसला दिइरहेको पहारीले स्मरण गरे। संघको मन्त्री भएको हिसाबले के गर्नुपर्छ गर्छु भनेर सधैँ झकझकाई रहन्थे। ‘कुराकानीको शिलशिलामा मन्त्री अधिकारीले सधैँ भन्ने गर्नुहुन्थ्यो –राम्रो काम गर्दा–गर्दै पनि बदनाम गराउन लागि पर्छन्। इमानदारिताका साथ काम गर्नुुस्। समयक्रम सँगसँगै दूधको दूध पानीको पानी छुट्टिन्छ।’
आठ दिनअघि मन्त्री अधिकारीसँग युवा नेता पहारीको भेट भएको थियो। विकास निर्माण लगायत देशको पछिल्लो राजनीतिक परिवेशका बारेमा लामो छलफल भएको थियो। मन्त्री अधिकारीलाई आफ्नो काममा निरन्तर खट्ने योद्धाका रुपमा सम्झना गर्छन् पहारी। उनले भने, ‘कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा ३ पटक निर्वाचनमा जितेको भनेर थाहा पाइन्छ।’
नेपाली पब्लिकसँगको कुराकानीको शिलशिलामा बेलाबेला पहारीको गला अवरुद्ध भयो। ‘युवा पुस्ताले प्रोत्साहित गर्ने आशा धरोहर गुमाएको छ, उहाँ जत्तिकै मान्छे जन्माउनु पर्छ, उहाँ जत्तिकै बन्ने वातावरण बनाउनुपर्छ, उहाँप्रतिको श्रद्धाञ्जलि भनेको उहाँको योजना र कामलाई निरन्तरता दिनुपर्छ,’ पहारीले भने, ‘बहुआयामिक नेता अधिकारी हाम्रालाई सधैँ प्रेरणा बनेर रहनु हुनेछ।’
रबिन्द्रलाई अध्ययनशील, वैचारिक रुपमा धनी, सकारात्मक र क्रियाशील नेताको रुपमा स्मरण गर्छन् पहारी। ‘अरुलाई होचो बनाएर आफू अग्लो हुने होइन, आफ्नो योग्यता दक्षता अनुुसार उचो हुनुपर्छ भन्ने मान्यता राख्ने उहाँले पर्यटन मन्त्री भएर धेरै राम्रा काम गर्नु भयो,’ पहारी भन्छन्, ‘उहाँको सपना पूरा गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने काधमा आएको छ, हामी त्यसलाई पूरा गर्न प्रतिपल प्रतिवद्ध छौं।’