वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद प्रदीप यादवले मानवताको कुनै पनि धर्म नहुने बताएका छन्। आज वीरगञ्जमा ब्रह्माकुमारी राजयोग सेवाले त्रिमूर्ति शिव जयन्तीको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद यादवले सो कुरा बताएका हुन्।
‘मानवताको कुनै जात, धर्म हुँदैन’ उनले भने, ‘हामी सबैले मानवताको बाटोमा अघि बढ्नुपर्छ। समाज निर्माणमा सहयोग गर्नुपर्छ।’ सांसद यादवले रक्तदान गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरेका थिए।
सोही कार्यक्रममा बोल्दै सांसद यादवले पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी ज्यान गएकोप्रति दुख व्यक्त गरे। उनले भने, ‘पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको खबरले स्तब्ध छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्।’