काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणबारे छानबिन सुरु गरेको जनाएको छ।
पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले छानबिनबाट दोषी ठहरिए सुनारमाथि पार्टीको नियमअनुसार कारबाही गरिने बताएका छन्।मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले पार्टीको केन्द्रीय अनुशासन आयोगले घटनाबारे अनुसन्धान अघि बढाएको जानकारी दिए। अडियोको सत्यतथ्य पत्ता लगाउन आवश्यक प्रमाणका आधारमा विस्तृत छानबिन गर्न आयोगलाई जिम्मेवारी दिइएको उनले बताए।छानबिन प्रक्रिया पूरा नभएसम्म सुनारलाई आफ्नो पदीय हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पनि बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार घटनामा राज्यका कानुन आकर्षित हुने अवस्था देखिए सम्बन्धित सरकारी निकायले गर्ने अनुसन्धानमा पार्टीले सहयोग गर्नेछ।अनुशासन आयोगको निष्कर्षमा सुनारबाट गल्ती नभएको वा उनी दोषी नदेखिएको पाइए कारबाही नहुने र दोषी ठहरिए पार्टीको नियमअनुसार आवश्यक कदम चालिने बुर्लाकोटीको भनाइ छ।।