काठमाडौं। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
सरकारले १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै हरेक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जेनजी आन्दोलन सुरु भएको आज एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको जेनजी आन्दोलन पछि राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्व, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरमा देखिएको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो।
आन्दोलनका क्रममा २३ भदौमा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा भोलिपल्ट अर्थात् २४ भदौमा देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो। दुई दिनसम्म चलेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीसहित ७६ जनाले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा तोडफोड र आगजनीका घटनासमेत भएका थिए। जेनजी शहीद दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रममार्फत आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झना गरिँदैछ।