काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि देशको मुख्य राजमार्गका रूपमा रहेको पृथ्वीराजमार्गका विभिन्न खण्डमा कटान र पहिरोले गम्भीर क्षति पु¥याएको छ। राजमार्गको धादिङस्थित कृष्णभिरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ। राजमार्ग ठप्प भएपछि काठमाडौँ उपत्यका भित्रिने ठूला मालबाहक तथा अत्यावश्यक सवारी साधनहरू वैकल्पिक सडकमार्फत आवतजावत गरिरहेका छन्।
नेपाल आयल निगमले व्यवसायीहरूसँग समन्वय गरी पृथ्वीराजमार्गबाट इन्धन ढुवानी हुन नसकेपछि वैकल्पिक रूपमा त्रिभुवन राजपथको बाटो प्रयोग गरेर काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ भित्र्याइरहेको जनाएको छ। इन्धन आपूर्ति सुचारु राख्न निगमले तराईमै रहेका ग्यास उद्योगहरूबाटै सिलिन्डर भरेर काठमाडौँ ल्याउने विशेष व्यवस्था मिलाएको छ।
निगमका अनुसार भदौ १८ गते काठमाडौँ उपत्यकाका लागि विभिन्न ब्रान्डका साढे २४ हजार र भदौ १९ गते ३२ हजार १३४ थान भरिएका ग्यास सिलिन्डर भित्र्याइएको छ। वैकल्पिक राजमार्ग प्रयोग गरी ग्यास आपूर्ति नियमित गरिएकाले बजारमा ग्यासको अभाव हुन नदिने निगमको दाबी छ।
यसैबिच, बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यमा खटिएका हेलिकप्टरहरूको सहज उडानका लागि आयल निगमले नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमै हवाई इन्धन (एभिएसन फ्युल) भर्ने विशेष व्यवस्था मिलाएको छ। यसबाट उद्धार कार्यमा लागेका हेलिकप्टरहरूलाई इन्धनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
