रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक पूर्वाधारहरूमा अर्बौँको भौतिक क्षति पु¥याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै १५ सय निजी घरसहित ठूलो सङ्ख्यामा भौतिक संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले २८ वटा सरकारी तथा सार्वजनिक भवन, ८ वटा सामुदायिक विद्यालय, ३ वटा निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र १ हजार ५०० वटा निजी घरहरूमा क्षति पु¥याएको छ। यसै गरी बाढीले ४१ किलोमिटर सडक खण्ड, ६ वटा पक्की पुल, ८ वटा बेलिब्रिज र १० वटा झोलुङ्गे पुल बगाएको छ।
बाढीका कारण भोटेकोशी, त्रिशूली र लाङ्टाङ खोलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका ८ वटा ठूला जलविद्युत् आयोजनाहरूमा पूर्ण रूपमा क्षति पुगेको छ। क्षति पुग्ने आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ५ मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली ३ ‘बी’ रहेका छन्।
यस्तै, बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका नागरिकहरूको खोजी तथा उद्धार कार्य तीव्रताका साथ जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीहरू उद्धारका लागि खटिएका छन्। हालसम्म १ हजार ३६५ जना रसुवाली, १ हजार १६० जना अन्य जिल्लाका नागरिक, २६४ पर्यटक, ७९ सरकारी कर्मचारी, २६ बैंक कर्मचारी र ६८ जना सुरक्षाकर्मी (२८ नेपाल प्रहरी, २७ नेपाली सेना, १३ सशस्त्र प्रहरी) सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रका नागरिकहरूका लागि हेलिकप्टरमार्फत खाद्यान्न तथा राहत सामग्री वितरण भइरहेको छ।