काठमाडौँ । रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमार्गमा फसेका नागरिकको खोजी तथा उद्धार कार्य नेपाली सेनाले निरन्तर अघि बढाइरहेको छ।
सेनाका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेल हेड पहिचान गरी तीनवटा एक्साभेटरबाट माटो पन्छाउने काम भइरहेको छ। कम्प्रेसर र रक ब्रेकरको प्रयोग गरी सुरुङतर्फ पहुँच बनाउने क्रममा टनेलमा पारिएको होलबाट अत्यधिक पानी आएको पाइएको छ। पानीको बहावका कारण उक्त स्थानबाट सुरुङभित्र प्रवेश गर्न तत्काल सम्भव नदेखिएपछि टनेलको आउटलेटतर्फबाट पुनः होल पार्ने काम जारी रहेको नेपाली सेनाले जनाएको छ। त्यस्तै, त्रिशूली–३ बी आयोजनाको कार्यालय तथा कर्मचारी आवास क्षेत्र पहिचान गरी एक्साभेटरको प्रयोगबाट त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण भइरहेको सेनाले जानकारी दिएको छ। यसैगरी, अपर त्रिशूली–१ को हाँकू क्षेत्रमा विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले करिब १६० मिटरसम्म पुगेर सुरुङको अवस्था निरीक्षण गरेको छ। त्यहाँ सुरुङ टालिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ। चिलिमे हाइड्रोपावर आयोजनामा पनि विदेशी प्राविधिकसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोली सुरुङभित्र प्रवेश गरी करिब १५० मिटरसम्म पुगेको थियो। त्यसपछि भिरालो भाग सुरु भएको र सुरुङ पूर्ण रूपमा पुरिएको अवस्थामा भेटिएको नेपाली सेनाले जनाएको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा क्षति पुगेपछि फसेका मजदुर तथा कर्मचारीको अवस्था पत्ता लगाउन प्राविधिक उपकरण र जनशक्ति प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिइएको सेनाले जनाएको छ।