काठमाडौँ - रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्त्विक संरचनाकाे पुनःनिर्माणका लागि अनुगमन तथा समन्वय समिति गठन गरिएकाे छ। प्राचीन सम्पदाकाे व्यवस्थित तथा समन्वयात्मक ढङ्गले पुनःनिर्माण गर्न रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरेकाे हाे।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएकाे छ। गठित समितिमा पुरातत्त्व विभागका महानिर्देशक र काठमाडौँ महानगरपालिकाले तोकेका ३ जना जनप्रतिनिधि रहने जनाइएको छ।
प्राधिकरणले तोकेका सम्बन्धित विषयका ३ जना विज्ञ प्राडा प्रेमनाथ मास्के, पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की र काठमाडौँ उपत्यका संरक्षण कोषका कार्यकारी निर्देशक रोहित रञ्जितकार समितिका सदस्य छन्।
प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख समितिको सदस्यसचिव हुनेछन्। समितिले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्त्विक संरचनाको पुनःनिर्माण व्यवस्थित तथा पारदर्शी बनाउन अनुगमन, सहजीकरण र समन्वय गर्नेछ।
पुनःनिर्माणका लागि सुझाव दिने, गुणस्तर हेर्ने, आवश्यक सहयोग पुर्याउने र काममा देखापरेका समस्या समाधान गर्ने जिम्मेवारी दिइएको छ। समितिलाई आवश्यकताअनुसार उपसमिति गठन गरी पुनःनिर्माणलाई अगाडि बढाउने अख्तियारीसमेत दिइएकाे छ।
समितिले पुनःनिर्माणका लागि आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्थापन तथा नीतिगत व्यवस्थाका लागि प्राधिकरणलाई अनुरोध गर्न सक्नेछ।
हिजाे बुधबार समितिको पहिलो बैठक बस्यो। बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली विशेष आमन्त्रितका रूपमा सहभागी थिए। रानीपोखरीको तल्लो भाग एवं पर्खाल निर्माण गर्दा कालीमाटी, बालुवा र इँटा जस्ता परम्परागत निर्माण सामग्री प्रयोग गर्ने, उपभोक्ता समिति गठन गरी सिफारिस गर्न महानगरपालिकालाई पत्राचार गर्ने निर्णय भएको छ।
रानीपोखरीकाे बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण तथा सौन्दर्यीकरण व्यवसायीमार्फत गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ। मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्त्विक संरचना पुनःनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो।