बझाङको सामान्य परिवारमा जन्मिएका रबिन्द्र ढाँटले आज नेपाली मिश्रित मार्सल आर्ट्सको नाम विश्वमाझ पुर्याएका छन्।
तर उनको यो यात्रा सहज थिएन। खेलकुदका लागि आवश्यक पूर्वाधार र अवसरको अभाव रहेको सुदूरपश्चिमबाट सुरु भएको उनको यात्रा भारतसम्म पुग्यो। किशोर अवस्थामै भारत पुगेका ढाँटले त्यहाँ मजदुरी र विभिन्न काम गर्दै आफ्नो दैनिकी चलाए। कामसँगै उनले लुकेर मार्सल आर्ट्सको अभ्यासलाई निरन्तरता दिए।
परिवार र संस्थागत सहयोगको अभावबीच पनि उनले हार मानेनन्। भारतमा भएको एमेच्योर एमएमएका १५ वटै प्रतिस्पर्धामा अपराजित रहँदै उनले सन् २०१९ र २०२० मा लगातार दुईपटक भारतीय राष्ट्रिय एमेच्योर एमएमए च्याम्पियनसिप जिते।
उनको प्रतिभा देखेपछि भारतबाटै नागरिकता लिएर प्रतिस्पर्धा गर्नेसम्मको प्रस्ताव आयो। तर ढाँटले नेपाली पासपोर्ट त्याग्न मानेनन्। नेपालकै झण्डामुनि विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अठोट लिएर उनी अघि बढिरहे। काठमाडौं आएपछि प्रशिक्षक दिविज पिया लामाको साथ पाएपछि उनको व्यावसायिक करियरले नयाँ गति लियो।
लामाले आफ्नै खर्चमा उनलाई थाइल्यान्डको प्रतिष्ठित प्रशिक्षण केन्द्रमा प्रशिक्षणको अवसरसमेत दिलाए। सन् २०२३ मा बैंककमा भएको ‘वन च्याम्पियनसिप’मा रुसी खेलाडी टोरेप्ची डोङ्गाकलाई तेस्रो राउन्डमा प्राविधिक नकआउटमार्फत पराजित गर्दै ढाँटले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फाइटरका रूपमा इतिहास बनाए।
त्यसपछि सन् २०२५ मा भारतको ग्रेटर नोएडामा भएको ‘म्याट्रिक्स फाइट नाइट–१७’मा अपराजित भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई तेस्रो राउन्डमा प्राविधिक नकआउटमार्फत पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बने। यो उपाधि जित्ने उनी पहिलो नेपाली फाइटर बने। यही प्रदर्शनले उनलाई ‘रोड टु युएफसी’को ढोकासम्म पुर्यायो।
सन् २०२६ मा ‘रोड टु युएफसी’को पाँचौँ संस्करणमा सहभागी हुने पहिलो नेपाली फाइटर बनेका ढाँटले क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै प्राविधिक नकआउट गर्दै सेमिफाइनलमा स्थान बनाए। अब ढाँटको यात्रा केवल व्यक्तिगत सफलता होइन, नेपाली एमएमएलाई विश्वको सबैभन्दा ठूलो मिश्रित मार्सल आर्ट्स मञ्च युएफसीसम्म पुर्याउने अभियान बनेको छ।
बझाङबाट सुरु भएको उनको यो संघर्षपूर्ण यात्रा अहिले नेपाली खेलकुदकै प्रेरणादायी कथामध्ये एक बनेको छ।