काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा शनिबार विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, कोशी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले कोशी र बागमतीका पहाडी तथा तराई भूभाग र गण्डकीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने जनाएको छ। वर्षाका कारण सम्भावित जोखिमलाई ध्यान दिँदै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।