काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
बुधबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। झापाको अर्जुनधारामा पछिल्लो एक घण्टामा १६ मिलिमिटर वर्षा मापन गरिएको छ। पाल्पाको बलड्याङगढीमा ५.८, दाङको बगासोतीमा ७.८ र गुल्मीको तम्घासमा ४ मिलिमिटर वर्षा भएको छ।
दिउँसो देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा पनि वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
राति पनि कोशी र लुम्बिनी प्रदेशका तराईसहित मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।