काठमडौँ बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेबाट तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया गरिमा चौधरी मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन्।
घटनापछि सामाजिक सञ्जालमा बालिकाको हत्या प्रकरणमा १६ वर्षीय बालक संलग्न रहेको दाबीसमेत सार्वजनिक भएको छ। स्थानीयका अनुसार बालिकाको शव भक्तीटोलस्थित करिब पाँच महिनादेखि खाली रहेको वीरबहादुर रोक्काको घरभित्र फेला परेको हो। घरबाट दुर्गन्ध आएपछि स्थानीयले झ्यालबाट हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा आइतबार बिहान करिब ८ः३० बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। उनको घरबाट करिब १५० मिटर दक्षिणमा रहेको खाली घरमा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलको अवस्था र बालिकाको शरीरमा देखिएको चोटका आधारमा जबर्जस्ती करणीपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण र मृत्युको कारण शव परीक्षणको रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पोस्टमा घटनामा १६ वर्षीय बालकको संलग्नता रहेको दाबी गरिएको छ। पोस्टमा घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिने उल्लेख गरिएको भए पनि उक्त दाबीको प्रहरीले हालसम्म आधिकारिक पुष्टि गरेको छैन।
घटनाको अनुसन्धानका लागि वीरगञ्जबाट तालिमप्राप्त कुकुरसमेत ल्याइएको थियो। बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ। प्रहरीले शवको मुचुल्का तयार गरी परीक्षणका लागि अस्पताल पठाएको छ। इलाका प्रहरी कार्यालय सिमराले प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ। सामाजिक सञ्जालमा आएका दाबीलाई आधिकारिक पुष्टि नभएसम्म तथ्यका रूपमा लिन नमिल्ने प्रहरीले जनाएको छ। घटनामा वास्तविक रूपमा को–को संलग्न छन् भन्ने विषय अनुसन्धान र प्राप्त प्रमाणका आधारमा मात्र यकिन हुने बताइएको छ।