काठमाडौँ । बैंकबाट फोन गरेको भन्दै ‘केवाइसी अपडेट’ गर्न लगाएर ठगी गर्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका अनुसार पछिल्लो समय बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएपमार्फत ‘केवाइसी अपडेट गर्नुपर्यो’ भन्दै ठगी गर्ने गरिएको थियो। ठगीका क्रममा पीडितलाई फोनमा स्क्रिन सेयर गर्न लगाउने, ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी माग्ने र पीडितको खातामा रहेको रकम अन्य खातामा स्थानान्तरण गर्ने गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साइबर ब्युरोबाट गरिएको प्राविधिक विश्लेषणका आधारमा पहिचान भएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयको समन्वयमा काठमाडौं जिल्ला अदालतबाट विद्युत् (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बारा, देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय (जयकुमार केवट), सोही नगरपालिका–१७ का २२ वर्षीय विद्या सागर केवट र पर्सा, वीरगञ्ज महानगरपालिका–३ का २६ वर्षीय कुबेर थापा रहेका छन्। प्रहरीले बैंक तथा वित्तीय संस्थाबाट फोन आएको भन्दै कसैले ओटीपी, पासवर्ड, स्क्रिन सेयर वा अन्य संवेदनशील विवरण मागेमा उपलब्ध नगराउन सर्वसाधारणलाई सचेत गराएको छ। साथै, केवाइसी अपडेटका नाममा आउने शंकास्पद फोन तथा सन्देशप्रति सावधानी अपनाउन आग्रह गरिएको छ।
